
धनुषा । मधेश प्रदेशमा आह्वान गरिएको सर्वदलीय बैठक दलहरुले बहिष्कार गरेका छन् । मधेश प्रदेशका प्रमुख डा. सुरेन्द्र लाभले बैठक आह्वान गरेका थिए ।
उक्त बैठक ७ राजनीतिक दलले बहिष्कार गरेका हुन् । बैठकमा ७ दलीय गठबन्धनका नेता तथा कार्यकर्ताहरू सहभागी भएनन् । बैठक निष्प्रभावी बनेको छ ।
असंवैधानिक रूपमा नियुक्त भई होटलमा शपथ लिएका वर्तमान मुख्यमन्त्री सरोजकुमार यादव बैठकमा सहभागी रहेका कारण बहिष्कार गरिएको दलहरुले जनाएका छन् । जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले मुख्यमन्त्री सहभागी भएका कारण बैठक बहिष्कार गरिएको जानकारी दिए ।
प्रदेश प्रमुखले मधेशमा बढ्दो राजनीतिक संकट समाधान गर्ने भनेर बैठक आह्वान गरेका थिए । मधेशमा केही दिनयता राजनीतिक संकट चुलिएको छ ।
























