जेनजी विद्रोहलाई विदेशी षड्यन्त्रको ट्याग

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २९, शनिबार १८:४७

विराटनगर । गत भदौं २३ र २४ गते जेनजी उमेर समूहका युवाहरुले गरेको प्रदर्शनलाई नेकपा एमालेले विदेशी षड्यन्त्र भएको दाबी गरेको छ । जेनजी आन्दोलनको दुई महिनापछि शनिबार मोटरसाइकल  र्याली निकालेको एमालेले युवाहरुले गरेको विद्रोहलाई विदेशी षड्यन्त्र भएको आरोप लगाएको हो ।

नेकपा एमाले मोरङ जिल्ला कमिटीले विराटनगरमा आयोजना गरेको मोटरसाइकल र्‍याली पछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले उपाध्यक्ष गुरुप्रसाद बरालले जेनजी आन्दोलन विदेशीले रचेको षड्यन्त्र भएको आरोप लगाए । आन्दोलनले देशलाई अस्थिरतातर्फ धकेल्ने भन्दै उनले षड्यन्त्रको पर्दाफास गर्न एमाले सडकमा आएको बताए ।

विराटनगरको महेन्द्र चोकमा आयोजित सभामा बोल्दै उनले युवाहरुको भावनासँग खेलेर देशमा विखण्डन ल्याउन खोजिएको दाबी गरे । बरालले जेनजी आन्दोलनका नाममा भइरहेका गतिविधिहरुले लोकतन्त्र र राष्ट्रियता दुवैलाई खतरामा पारेको दाबी गरे ।

एमाले जहिले पनि युवाहरुको पक्षमा रहेको तर देश विरोधी गतिविधिलाई भने कुनै पनि हालतमा स्वीकार्न नसकिने स्पष्ट पारे ।  बरालले संसद पुर्नस्थापना गरि जेनजीले उठाएका जायज माग सम्बोधन गरिने बताए । नेपाली कांग्रेस पनि संसद पुनस्थापनाको पक्षमा उभिने उनको भनाई छ ।

कोणसभा कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, मोरङ अध्यक्ष अजम्वर राई लगायत नेताहरुले जेनजी आन्दोलनको क्रममा भएका तोडफोड, लुटपाट एवं आगजनी गर्नेलाई कानुनी कारवाही गर्नुपर्ने बताए ।

शनिबार एमालेले देशभर र्याली आयोजना गरेको थियो । र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेताहरुले जेनजी विद्रोहलाई विदेशी षडयन्त्र भएको आरोप लगाए । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको कमजोरी र बढ्दो भ्रष्टाचारविरुद्ध युवाहरुले आन्दोलन गरेका थिए । भदौ २३ गतेको आन्दोलनमा राज्य पक्षले दमन गर्दा २४ गते सरकारी संरचनामा आगजनी र तोडफोड भएको थियो । जेनजी विद्रोहलाई विदेशी षड्यन्त्र दाबी गर्ने एमाले नेताहरुले तत्कालीन प्रधानमन्त्री ओलीको असमक्षता र अकर्मण्यताकाे बचाउ गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.