मेयर छाडेर प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा हर्क साम्पाङ

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ३०, आइतबार २०:०५

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मेयरबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरेका छन् । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उनले सुनसरी क्षेत्र नम्बर १ बाट लड्ने तयारी गरेका हुन् । २०७९ को प्रतिनिधिसभा चुनावमा सुनसरी–१ बाट जनता समाजवादी पार्टी नेपालका तर्फबाट अशोक राई निर्वाचित भएका थिए ।

२०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरान उपमहानगरको मेयर बनेका साम्पाङले आफ्नै नेतृत्वको श्रम संस्कृति पार्टी दर्ता गरिसकेका छन् ।

श्रम संस्कृति पार्टीका महासचिव आरएन राई पार्टी अध्यक्षसमेत रहेका मेयर साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरिरहेको जानकारी दिए । ‘ निर्वाचन लड्ने गृहकार्य भइरहेको छ,’ उनले भने,‘ अध्यक्षज्यूले चुनाव लड्नुहुन्छ ।’

सामाजिक अभियन्ताका रुपमा काम गरेका साम्पाङले २०७९ को स्थानीय चुनावमा २० हजार ८२१ मत पाएर मेयर पदमा विजयी भएका थिए । त्यसबेला नेपाली कांग्रेसका किशोर राई १६ हजार ५९ मत प्राप्त गर्दै दोस्रो बनेका थिए । नेकपा एमालेकी मञ्जु भण्डारी १२ हजार ८२५ मत पाएर तेस्रो बनेकी थिइन् । २०७६ मा धरानको स्थानीय तह उपनिर्वाचनमा उम्मेदवार बनेका बेला उनले ४२२ मत मात्र पाएका थिए ।

मेयर साम्पाङले चुनाव लड्ने तयारी गरिरहेको सुनसरी–१ नम्बर निर्वाचन क्षेत्रमा धरान उपमहानगरका २० वटै वडा, बराह क्षेत्र नगरपालिकाको १ देखि ५ वडा र रामधुनी नगरपालिकाकाका ६ र ७ नम्बर वडा छन् ।

सुनसरी–१ बाट २०४८ मा मनमोहन अधिकारी, २०५१ मा लिला श्रेष्ठ सुब्बा, २०५६ मा कुन्ता शर्मा विजयी भएका थिए । सुनसरी–१ मा २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका किरण कुमार राईले जितेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट कृष्णकुमार राई र २०७४ मा एमालेकै जयकुमार राई निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.