खाँदबारीमा कैद भुक्तान गरेर छुटिसकेका युवालाई प्रहरीले हान्यो गोली

Share this
783shares
मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ कात्तिक ३०, आइतबार १९:३८

विराटनगर । संखुवासभाको सदरमुकाम खाँदबारीमा कैद भुक्तान गरेर छुटिसकेका १ जना युवालाई प्रहरीले गोली हानेको छ ।

खाँदबारी नगरपालिका–१ अस्पताल चोकस्थित पाँचखपन–चुङखुरुङ होटलमा आइतबार दिउँसो १ बजेतिर प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर खाँदबारी–६ का अन्दाजी ३१ वर्षीय रुद्रबहादुर विक घाइते भएका छन् ।

संखुवासभा प्रहरीका सूचना अधिकारी एवं इन्स्पेक्टर धनबहादुर राजवंशीका अनुसार विकको बायाँ घुँडानजिक खुट्टामा गोली लागेको छ । जिल्ला अस्पताल खाँदबारीमा सामान्य उपचारपछि विकलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी इन्स्पेक्टर राजवंशीले दिए ।

प्रहरीले प्रहार गरेको गोली लागेका युवा अपराधिक पृष्ठभूमिका हुन् । तर, उनी अदालतले तोकेको कैद सजाय भुक्तान गरेर यसअघि नै छुटिसकेका थिए । चोरी मुद्दामा विकलाई जिल्ला अदालत चैनपुरले २०७५ सालमा ७ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

त्यसअघि पनि उनीविरुद्ध बारम्बार चोरी मुद्दा चलेको थियो । चोरीका पटके प्रतिवादीका रूपमा अदालतले दोषी ठहर गर्दै सजाय सुनाएपछि उनलाई कारागार चलान गरिएको थियो ।

अदालतले तोकेको कैद सजाय भुक्तान गरेर उनी नागरिक जीवनमा फर्किसकेका थिए । जिल्ला कारागार खाँदबारीबाट उनलाई गत वैशाख ८ गते झुम्का कारागार स्थानान्तरण गरिएको थियो ।

सुनसरीको झुम्का कारागारबाट बाँकी कैद भुक्तान गरेर विक गत जेठ २४ गते छुटेको खाँदबारी कारागारका जेलर राजन घिमिरेले बताए । बिरामी भएर उपचारका लागि पठाएपछि बाँकी कैद झुम्का कारागारबाटै भुक्तान गरेर विक जेलमुक्त भएको जानकारी घिमिरेले दिए ।

कारागार बसाइ सकेर घर फर्किएका उनी अहिले प्रहरीको गोलीको सिकार भएका छन् । स्रोतका अनुसार फरार प्रतिवादी पक्राउका नाममा कैद भुक्तान गरेर छुटिसकेका निर्दोष व्यक्तिलाई सादा पोसाकमा खटिएका घुमुवा प्रहरीले गोली हानेर घाइते बनाएका हुन् । उनीमाथि प्रहरी सहायक हवल्दार दिगम राईले ठूलो चाइनिज पेस्तोलबाट गोली प्रहार गरेको स्रोतको भनाइ छ ।

सहायक हवल्दार राई घुमुवाका रूपमा खटाइएका सादा पोसाकका प्रहरी हुन् । होटलमा पसेका बेला विकसँग विवाद भएपछि सहायक हवल्दार राईले गोली चलाएको प्रत्यक्षदर्शीले बताए । गोली प्रहार गर्दा उनी सादा पोसाकमा थिए । यो घटनाले संखुवासभा प्रहरीलाई विवादमा तानेको छ ।

प्रहरीको काम कारबाही शंकास्पद एवं विवादास्पद देखिएको स्थानीय बताउँछन् । ‘फरार प्रतिवादी पक्राउका नाममा कैद भुक्तान गरेर छुटिसकेका निर्दोष युवामाथि प्रहरीले गोली चलाएको छ । यो सरासर अन्याय हो । यो घटना काम देखाउनलाई केसम्म गर्न प्रहरी तयार हुन्छभन्ने उदाहारण हो,’ स्थानीय भन्छन् ।

स्रोतका अनुसार विक अपराधिक पृष्ठभूमिका हुन् । तर, अहिलेसम्म कुनै कैद भुक्तान गर्न बाँकी छैन । जेल बसेर सामान्य जीवनमा फर्किसकेका उनीविरुद्ध कुनै मुद्दामा अनुसन्धान भइरहेको अवस्था पनि हैन ।

वास्तविकता नबुझिकन सर्वसाधारण नागरिकमाथि गोली हानिएको भनेर प्रहरीको चौतर्फी आलोचना भइरहेको छ । घटनापछि करिब १ महिनाअघि मात्रै संखुवासभा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका डीएसपी कुमारप्रसाद मैनाली विवादमा तानिएका छन् । उनले शंकास्पद हिसाबले परिचालन गरेका घुमुवा प्रहरीले विवादास्पद काम गरेको प्रहरी स्रोतले बतायो । यस विषयमा बुझ्न खोज्दा डीएसपी मैनालीले फोन उठाएनन् ।

प्रहरीले यो घटनालाई ‘गुपचुप’ राख्न खोजेको थियो । तर, सर्वसाधारणमाथि गोली प्रहार गरिएको घटना लुकाउन सम्भव भएन । समात्ने प्रयास हुँदै गर्दा भाग्न खोजेपछि गोली चलाउनु परेको दाबी प्रहरीले गरिरहेको छ ।

इन्स्पेक्टर राजवंशीले प्रहरीमाथि खुकुरीले आक्रमण गर्न खोजेपछि प्रतिरक्षाका लागि गोली चलाउनु परेको बताए । ‘फैसला कार्यान्वयनका लागि फरार प्रतिवादी खोजतलास गर्न प्रहरी टोली खटिएको थियो । शंकास्पद लागेर सोधपुछ गर्दा प्रहरीलाई नै आक्रमण गरेर भाग्न खोजेपछि ‘सेल्फ डिफेन्स’का लागि गोली चलाउनु परेको हो,’ उनले भने ।

राजवंशीले विक पहिले पनि विभिन्न मुद्दामा पटक–पटक कारागार चलान भइसकेको बताए । ‘सुरुमा कुकरले प्रहरीको टाउकोमा प्रहार गरेछन् । त्यसपछि खुकुरीले हान्न खोज्दा गोली प्रहार गर्नुपर्ने अवस्था आयो,’ उनी भन्छन्, ‘घटनामा परेर प्रहरी पनि सामान्य घाइते भएका छन् । खाँदबारी अस्पतालमा उपचार भइरहेको छ ।’

दोहोरो घम्साघम्सीका क्रममा गोली चलाउँदा विक घाइते भएको र उनले प्रहरीलाई प्रहार गर्न खोजेको एउटा खुकुरीसमेत बरामद गरिएको इन्स्पेक्टर राजवंशीको भनाइ छ । उनका अनुसार विकले कैद भुक्तान गर्न बाँकी छ कि छैन वा उनीमाथि कुनै मुद्दामा अनुसन्धान भइरहेको हो वा हैन भनेर थप बुझ्ने काम भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.