कोइरालाको जोड: पुसभित्रै नियमित महाधिवेशन

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २, मंगलबार १२:२३

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको नियमित महाधिवेशन आगामी पुस मसान्तभित्रै गरिसक्नुपर्नेमा जोड दिएका छन् । निर्धारित समयमा महाधिवेशन हुन नसकेमा विशेष महाधिवेशनमा जानुपर्ने र त्यसको निर्णय केन्द्रीय समितिबाट सर्वसम्मत हुनुपर्ने कोइरालाले बताए ।

आज (मंगलबार) काठमाडौंको विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा आफू निकटका युवा कार्यकर्ताहरूसँगको भेटमा डा. कोइरालाले उक्त धारणा राखेका हुन् । भेटमा सहभागी भुवन भट्टका अनुसार कोइरालाले आफ्नो पहिलेदेखिको अडान २०८२ मंसिरभित्र महाधिवेशन हुनुपर्छ भन्ने रहे पनि अहिले ढिलोमा पुसभित्रै महाधिवेशन गर्ने पक्षमा आफू रहेको जानकारी दिए ।

कोइरालाले यदि पुस मसान्तभित्र १५ औँ महाधिवेशन हुन सकेन भने केन्द्रीय कार्यसमितिले निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्ने आवश्यकता औँल्याए । ‘पुसभित्रै नियमित महाधिवेशन हुन सकेन भने केन्द्रीय समितिबाट विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णय गर्ने,’ कोइरालाको भनाइ उद्धृत गर्दै भट्टले बताए ।

कोइरालाले विशेष महाधिवेशनमा जाँदा हस्ताक्षर बुझाएका ५४ प्रतिशतको सनाखत गरेमा पार्टी फुट्न सक्ने भन्दै केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गर्नु उपयुक्त हुने बताए । ‘यसो गरियो भने विवाद कम हुन्छ र पार्टीलाई फुटबाट बचाउँदै एकताबद्ध बनाउन सकिन्छ,’ कोइरालाले भने ।

नेता कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नरहेकाले पार्टी केन्द्रीय कार्यालयमा बुझाइएका हस्ताक्षरको सनाखत गर्न हुन्न भन्ने पक्षमा रहेको पनि बताएका थिए । हाल नेपाली कांग्रेसमा सरकारले फागुन २१ गतेका लागि तोकेको निर्वाचनभन्दा अगाडि महाधिवेशन गर्ने कि पछाडि गर्ने भन्ने विषयमा विवाद चर्किरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.