
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीलाई सुदृढ बनाउने उद्देश्यसहित प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलका नेताहरूसँग बुधबार संयुक्त छलफल गर्ने भएकी छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अपराह्न ४ बजेका लागि छलफल तय गरिएको उनको सचिवालयले जनाएको छ । दल दर्ता प्रक्रिया जारी रहेको समयमा दलहरुलाई चुनावमा सक्रिय सहभागिताका लागि प्रोत्साहन र आवश्यक समन्वय गर्न प्रधानमन्त्रीले सबै दलका नेताहरूसँग एकै ठाउँमा बसेर कुरा गर्न लागेकी हुन् ।
यसअघि प्रधानमन्त्री कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग अलग्गै परामर्श गरिसकेकी थिइन् । उनैले हालै जेनजी समूहका प्रतिनिधिहरूसँग समेत छुट्टै भेटवार्ता गर्दै उनीहरूको दृष्टिकोणबारे जानकारी लिएकी थिइन् ।
सरकारले तयार गर्दै गरेको चुनाव तयारीका विभिन्न पक्ष, व्यवस्थापकीय चुनौती, दलहरूको सुझाव तथा निर्वाचनमा व्यापक सहभागिता सुनिश्चित गर्ने उपायबारे छलफल केन्द्रित हुने बताइएको छ ।
























