
काठमाडौँ । नेकपा (एमाले) ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको तयारी तथा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि घोषणा गरिएको सडक प्रदर्शनको रणनीति तय गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा उक्त बैठक बस्ने भएको हो । पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारी का अनुसार बैठकको मुख्य एजेन्डा मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुने महाधिवेशनको तयारी र संगठनात्मक कार्यतालिकामा केन्द्रित रहनेछ ।
यसका साथै, प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै मङ्सिर ६ गते काठमाडौँमा गर्ने तय भएको प्रदर्शन लाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल हुने बुझिएको छ । एमालेले यसअघि नै प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवै मोर्चाबाट दबाब सिर्जना गर्ने बताउँदै आएको छ।
महाधिवेशनका लागि एमालेले मङ्सिर १३ गते देशभर एकैपटक प्रतिनिधि छनोट गर्ने कार्यक्रम तय गरिसकेको छ। यद्यपि, फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगले मङ्सिर १० गतेसम्म दल दर्ताको समय तोकेकाले एमालेको आगामी कदमलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
























