
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियान’का संयोजक दुर्गा प्रसाईंलाई मध्यरातमा पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले सरकारको यो कदमलाई ‘स्वेच्छाचारी’ र ‘रात्रिकालीन तमासा’ को संज्ञा दिए ।
ओलीले प्रसाईंको तत्काल रिहाइको माग गर्दै प्रश्न गरे, ‘अपराध गरे पो थुन्ने हो। भएको भिडियो बाहिर ल्याउनु अपराध हो ?’ उनले सरकारले बोल्ने अधिकारमाथि नै अंकुश लगाउन खोजेको आरोप लगाए ।
बाराको सिमरामा एमालेको कार्यक्रम बिथोल्न खोजिएको घटनालाई जोड्दै ओलीले कडा असन्तुष्टि पोखे । उनले प्रदर्शनकारीलाई व्यंग्य गर्दै भने, ‘भेलामा जेनजी भन्दै केही ‘विद्वानहरूले ढुंगामुढा गरे, बिथोले । सिमरा एयरपोर्ट बन्द भयो, नेताहरूलाई जान रोकियो ।’ उनले ‘जेनजी’ को नाममा हुने अराजकता र आतंक रोक्न सरकारलाई चेतावनी समेत दिए ।
सिमरामा नेताहरूलाई हिँडडुल गर्न नदिने र काठमाडौँमा बोल्नेलाई पक्राउ गर्ने सरकारको रवैयाले चुनाव हुन नसक्ने ओलीको दाबी छ । उनले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘सभा गर्नै नदिनेले चुनाव कसरी गर्छ ? कस्तो चुनाव गर्न चाहनुहुन्छ प्रधानमन्त्रीजी ?’

























