
विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले अनुशासन उल्लंघन गरेको भन्दै इटहरी उपमहानगरपालिकाका पूर्वमेयर तथा प्रदेश कमिटी सदस्य द्वारिकलाल चौधरीलाई कारबाही गरेको छ ।
विराटनगरमा सम्पन्न नवौं पूर्ण बैठकले चौधरीलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्दै सदस्यतासमेत ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।
चौधरीमाथि सामाजिक सञ्जाल र मिडियामार्फत नेतृत्वप्रति अनास्था फैलाउने र अराजक गतिविधि गरेको आरोप छ । पटक–पटक सम्झाउँदा पनि नटेरेको भन्दै ६ महिना निलम्बन गरिएको जनाइएको छ ।
यसैगरी, सुनसरीकै बद्रीविशाल पोखरेल र काशीनाथ दंगाललाई सार्वजनिक रूपमा पार्टी हितविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिने भएको छ ।
यस्तै, झापाका मनोरथ तिवारी (सल्लाहकार सदस्य) लाई पार्टी विरोधी गतिविधि गरेको र ध्रुब सिवाकोटी (झापा) लाई अदालतबाट नैतिक पतन देखिने फौजदारी कसुरमा जेल सजाय भएकाले पदमुक्त गरिएको छ ।
बैठकले गत भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनको नाममा विराटनगर पाञ्चालीस्थित एमालेको प्रदेश र जिल्ला पार्टी कार्यालयमा पूर्ण क्षति पुगेको ठहर गरेको छ ।
असोजको बाढीपहिरो पीडितलाई राहत र कार्यालय पुनर्निर्माणका लागि पार्टीका जनप्रतिनिधि र नियुक्त पदाधिकारीहरूबाट अनिवार्य सहयोग उठाउने निर्णय गरेको छ ।
यसैबीच, परशुराम बस्नेत, उमेश डालमिया लगायत २१ जना नेताहरूले जनही २० हजारका दरले रकम बुझाइसकेको एमालेले जनाएको छ ।
























