
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संसद् पुनर्स्थापनाको माग र सरकारको वैधानिकतामा प्रश्न उठाउने गतिविधिले राष्ट्रलाई फेरि अस्थिरतामा धकेल्न सक्ने चेतावनी दिएकी छन् ।
सिंहदरबारमा राजनीतिक दलहरूसँग छलफलका क्रममा प्रधानमन्त्री कार्कीले भनेकी छिन्, ‘निर्वाचनको घोषणापछि पनि केही दलमा देखिएको अन्योल, संसद् पुनर्स्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले राष्ट्रलाई फेरि अस्थिरताको चक्रमा पुर्याउन सक्छ ।’ उनले सरकारको संवैधानिक अडान स्पष्ट गर्दै भनिन्, ‘आगामी फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नु हाम्रो संवैधानिक दायित्व र जनताप्रतिको अटल प्रतिबद्धता हो । निर्वाचनको अनिवार्यताप्रति हाम्रो प्रतिबद्धता दह्रिलो र स्पष्ट छ ।’
प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूलाई संवैधानिक निकासको बाटोतर्फ लाग्न आग्रह गर्दै भनिन्, ‘अब संसद् पुनर्स्थापनाको अडान लिने हो भने यसले विगतको राजनीतिक दुर्घटनालाई दोहोर्याउन खोजेको पुष्टि मात्र हुनेछ । राजनीतिक बहसलाई अब संवैधानिक निकास अर्थात् निर्वाचनमा केन्द्रित गर्नुपर्छ ।’
























