
काठमाडौं । सशस्त्र प्रहरी बलमा ३ जना डीआईजीको दरबन्दी थपिएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको सशस्त्र प्रहरी बल नेपालको संगठन संरचना तथा दरबन्दी स्वीकृत गर्दै डीआईजीको दरबन्दी थप्ने निर्णय लिएको हो ।
यसअघि सशस्त्रमा २ जना प्राविधिकसहित १८ डीआईजीको दरबन्दी रहेकोमा अब ३ थपिएपछि २१ पुगेको छ । सशस्त्रको कानुन महाशाखा, विपद् व्यवस्थापन महाशाखा र इन्टेलिजेन्स ब्यूरो अब डीआईजीको नेतृत्वमा रहने छन् ।
एक मन्त्रीका अनुसार कानुन महाशाखालाई निर्देशनालय र विपद् व्यवस्थापन महाशाखालाई पनि निर्देशनालयमा परिणत गर्ने प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । कीर्तिपुरमा रहेको निलबाराही गणलाई एसएसपीको नेतृत्वमा रहने गरी दंगा नियन्त्रण गण बनाउने निर्णय भएको छ । त्यहाँ १ हजार फौज रहने छन् ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जवान, हवलदारलाई १६ वर्षमा र जुनियर अफिसरलाई १८ वर्षमा पेन्सन सुविधा दिनुपर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव भने मन्त्रिपरिषद्मा छलफलमै छ ।

























