
काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनलाई शान्त, सुरक्षित र निष्पक्ष वातावरणमा सम्पन्न हुने वातावरण तयार पार्न नेपाली सेना परिचालन गर्ने निर्णय राष्ट्रिय सुरक्षा परिषद्ले लिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको परिषद्को ४१औँ बैठकले संविधानको धारा २६६ को उपधारा १ बमोजिम सेना परिचालनका लागि मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निष्कर्ष गरेको हो । बैठकका विषयगत निर्णयहरूबारे जानकारी दिँदै रक्षा मन्त्रालयका सचिव तथा परिषद्का सदस्यसचिव सुमनराज अर्यालले निर्वाचन सुरक्षालाई अत्यन्त संवेदनशील मान्दै आवश्यक कानुनी प्रावधानअनुसार सेनाको भूमिका सुनिश्चित गर्न परिषद्ले निर्णय गरेको बताए ।
यस्तै, बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदनको मस्यौदामाथि विस्तृत छलफल गर्दै आवश्यक संशोधनसहित स्वीकृति प्रदान गरेको छ । अब सो प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने प्रक्रिया अघि बढाइने सचिवालयले जनाएको छ ।
बैठकमा राष्ट्रिय सुरक्षालाई प्रभावित पार्न सक्ने सम्भावित चुनौती, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय घटनाक्रमका प्रभाव र आगामी दिनमा अवलम्बन गर्नुपर्ने रणनीतिबारे सदस्यहरूबीच गम्भीर छलफल भएको थियो । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल तथा प्रधान सेनापति अशोकराज सिग्देललगायत उच्च अधिकारीहरूको सहभागिता थियो ।

























