निर्वाचन आयोगमा ३३ वटा दल दर्ता

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ४, बिहीबार १९:३०

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनलाई निर्वाचन आयोगमा हालसम्म ३३ वटा राजनीतिक दल दर्ता भएका छन् ।

आयोगमा दल दर्ता प्रक्रिया चलिरहेको छ । बिहीबार साँझसम्ममा ३३ वटा र बिहीबार १ दिनमा ८ वटा दर्ता भएको आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार बुधबारसम्म २५ दल दर्ता भएका थिए भने बिहीबार ८ वटा दल थपिएका हुन् ।

बिहीबार दर्ता भएको दलमध्ये निरबहादुर श्रेष्ठ नेतृत्वको जनप्रजातान्त्रिक पार्टी नेपाल, प्रितम मुखिया नेतृत्वको विकासशील जनता पार्टी, शुक्रबहादुर गुरुङको राष्ट्रिय नागरिक पार्टी र अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी प्रमुख छन् । त्यस्तै गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा एउटा खुट्टा गुमाएका घाइते राजेश पोर्तेलले नेतृत्व गरेको राष्ट्रिय परिवर्तन पार्टी समेत निर्वाचनमा सहभागी हुन बिहीबार आयोगमा दर्ता भएको छ ।

२१ सदस्यीय उक्त दलको समितिमा ४ बाहेक सबै जेनजी समूहका सदस्य छन् । केही दिनअघि मात्रै पहिलो पटक दर्ता प्रक्रिया सुरु गरेको यो दल बिहीबार औपचारिकरूपमा प्रतिस्पर्धामा उत्रने दलको सूचीमा समावेश भएको निर्वाचन आयोगले जनाएको छ ।

यसबाहेक माधव गुरुङ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (पुष्पलाल), कुमार लिङदेनको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा विनय यादवको राष्ट्रिय एकता दल पनि बिहीबारै दर्ता भएका हुन् । आयोगले प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने दलहरुले मंसिर १० गतेभित्र दर्ता सक्नुपर्ने र राष्ट्रियसभा निर्वाचनका लागि मंसिर ७ गतेसम्म दर्ता अनिवार्य गरेको छ ।

प्रतिनिधिसभाका लागि आयोगमा पहिलो दिन १२ दल, दोस्रो दिन ५ दल, तेस्रो र चौथो दिन ८–८ दल दर्ता भएका थिए । राष्ट्रियसभा निर्वाचनका लागि बिहीबार कुनै दल दर्ता भएनन् । आयोगका अनुसार दर्ता अवधि बाँकी रहेकाले निर्वाचनमा भाग लिने दलहरुको संख्या बढ्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.