
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधनको माग गर्दै देशव्यापी सङ्घर्षका कार्यक्रमहरू घोषणा गरेको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले संविधान पुनर्लेखन वा संशोधनका लागि सरकारलाई दबाब दिने उद्देश्यले आन्दोलनका चरणबद्ध कार्यक्रमहरू तय गरेको हो ।
जसपाले संविधान संशोधनसहितको २८ बुँदे माग राखी प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ। पार्टीका महासचिव रामकुमार शर्माका अनुसार, मङ्सिर १० गते देशभरका प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई उक्त मागपत्र बुझाइनेछ ।
पार्टी बैठकले संगठन सुदृढीकरण, चुनाव तयारी र सङ्घर्षका कार्यक्रमहरू एकसाथ तय गरेको छ। सङ्घर्षका मुख्य कार्यक्रमहरू यसप्रकार छन्-
मङ्सिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका सहर र बजारहरूमा विरोध कार्यक्रम, कोणसभा र जनपरिचालन गरिने।
मङ्सिर १९ देखि २१ गतेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिइने।
मङ्सिर २७ देखि पुस ४ गतेसम्म देशभर जिल्लास्तरीय विरोध सभा तथा जनसभा आयोजना गरिने।
यसका साथै, प्रदेशस्तरीय विरोध सभाका लागि पनि मिति तोकिएको छ। जसअनुसार पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगन्ज, पुस १७ गते नेपालगन्ज र भैरहवामा बृहत् विरोध सभा हुनेछन्।
महासचिव शर्माले संविधान निर्माणदेखि नै जसपा नेपालले असहमति जनाउँदै आएको र संविधान पुनर्लेखनको माग पार्टीले सुरुदेखि नै उठाउँदै आएको बताए । पार्टीले संविधानमा समावेश हुनुपर्ने भन्दै प्रमुख रूपमा उठाएका मागहरूमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति, पूर्ण समावेशी संसद्, स्वायत्त अधिकार सम्पन्न प्रदेश, समान जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र र राज्यको पुनर्संरचना रहेका छन् ।

























