ओलीको जिकिर: ‘वर्तमान सरकार असंवैधानिक, यसको परीक्षण अदालतबाटै हुनुपर्छ’

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ६, शनिबार १४:५१

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संविधान मिचेर बनेको दाबी गर्दै यसको संवैधानिक परीक्षण सम्मानित अदालतबाटै हुनुपर्ने जिकिर गरेका छन् । शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘यस्तो सरकारको संवैधानिक परीक्षण सम्मानित अदालतबाट हुनैपर्छ,’ अध्यक्ष ओलीले भने, ‘संविधानले कुनै हालतमा यो सरकारलाई उचित ठहर्‍याउने ठाउँनै छैन। कोर्टले यसलाई संवैधानिक ठहर्‍याउनै सक्दैन ।’

अध्यक्ष ओलीले वर्तमान सरकारलाई अवैधानिक, असंवैधानिक र लोकतन्त्रका विरुद्धमा खडा गरिएको भनेर आरोप लगाए । उनले एमाले देशमा शान्ति, सुव्यवस्था, लोकतान्त्रिक व्यवस्थाको स्थापना र स्वाभिमानको रक्षाका लागि बनेको पार्टी भएको दाबी गरे ।

‘यो देशमा नेकपा एमाले छ, सबैले बुझ्नुपर्नेछ,’ उनले जिकिर गरे, ‘तसर्थ कसैले कुनै हिसाबले अवैध र असंवैधानिक, अलोकतान्त्रिक ढंगले देशमा गडबडी मच्चाएर एकछिनका लागि सरकार कब्जा गरिहाल्यो भने हामी फेरि लोकतान्त्रिक प्रक्रियामा फर्काएर छाड्छौँ ।’

ओलीले अराजकताको राज लामो समय जान नसक्ने उद्घोष गर्दै एमालेले अराजकताको राज छिट्टै अन्त्य गर्ने र मिचिएको संविधानलाई नमिचिने अवस्थामा फर्काएर ल्याउने प्रतिबद्धता जनाए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.