
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । बैठकले २०८२ फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निष्कर्ष निकालेको छ ।
‘२०८२ फागुन २१ गते हुने गरी प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित विकास निर्वाचनको हो भन्ने ठहर गर्दै नेपाली कांग्रेस निर्वाचनमा भाग लिने निर्णय गर्दछ,’ बैठकमा महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।
यसका साथै, कांग्रेसले आगामी निर्वाचनहरूको प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि निर्णय गरेको छ ।महामन्त्री थापाले भने, ‘२०८२ साल माघ ११ गते आइतबारदेखि हुने राष्ट्रियसभा सदस्य निर्वाचन र २०८२ साल फागुन २१ गते बिहिबारका दिन हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसलाई निर्वाचन आयोगमा तत्काल दर्ता गर्ने निर्णय गर्दछ ।’
























