
काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको छ ।
कांग्रेसभित्र लामो समयदेखि चल्दै आएको दोधार अन्त्य गर्दै शनिबार बसेको केन्द्रीय समिति बैठकले चुनावमा जाने निर्णय गरेपछि अब मुख्य प्रतिस्पर्धी दल नेकपा (एमाले)ले कस्तो कदम चाल्छ भन्ने प्रश्न राजनीतिको केन्द्रमा छ । कांग्रेसले विगत केही महिनादेखि विभिन्न बहानामा चुनावमा जान ढिलाइ गर्दै आएको थियो ।
मुलुकको सुरक्षा, राजनीतिक अस्थिरता तथा सरकारको व्यवहारलगायत कारण देखाउँदै अन्तिम घडीसम्म अनिश्चय कायम राखेको कांग्रेसले स्पष्ट निर्णय सार्वजनिक गरेपछि अब एमालेमाथि प्रत्यक्ष दबाब बढेको विश्लेषकहरूको धारणा छ । यसअघि कांग्रेस अनिर्णीत रहँदा एमालेलाई सहज स्थिति देखिएको थियो ।
विभिन्न भाषण, सभा र अन्तर्राष्ट्रिय कूटनीतिक भेटघाटसम्ममा एमाले नेताहरूले ‘चुनाव गराउने सरकार नै छैन’ भन्ने मूल धारणा अघि सारेका थिए । तर, अब कांग्रेस खुलेरै चुनावमा जान तयार भएको घोषणा गरेपछि एमालेले निरन्तर दोहोर्याउँदै आएको ‘चुनाव हुने अवस्था छैन’ भन्ने दाबी कति समय टिक्ला भन्ने बहस सुरु भएको छ ।
कांग्रेसले आफ्नो निर्णय सार्वजनिक गर्दै जनतामुखी दलहरूको जिम्मेवारी भनेकै निर्वाचनमार्फत जनमतको सामना गर्नु हुने भएकाले सबै दलले उत्साहसाथ भाग लिनुपर्ने बताएको छ । एमाले भने अझै पनि सुरक्षा स्थिति कमजोर रहेको दाबीमा अडिग छ ।
शनिबार मात्रै बागमती प्रदेश कमिटीको विशाल जनसभामा एमाले नेताहरूले वर्तमान सरकारले ‘चुनाव गराउन इच्छुक नभएको’ आरोप दोहोर्याए। संसद् विघटनका विवाददेखि सुरक्षा संयन्त्रको कमजोरीसम्मका कारण देखाउँदै उनीहरूले ‘पहिले संसद् पुनर्स्थापना, त्यसपछि मात्र चुनाव’ भन्ने आफ्नो पुरानो अडान छाडेनन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि केही दिनदेखि सुरक्षा संवेदनशीलताका कारण चुनाव सम्भव नभएको तर्क अघि सार्दै आएका छन् । काठमाडौंमा आयोजित प्रदर्शनमा पनि उनले सरकारले नै चुनाव नचाहेको र राजनीतिक दलहरूलाई ‘भावनामा नबग्न’ आग्रह गरे ।
यद्यपि, एमालेले अन्तिम निर्णय भने अझै औपचारिक रूपमा सार्वजनिक गरेको छैन । कांग्रेसले घोषणा गरेसँगै अब एमालेले दलहरूबीच छलफल गर्ने बताएको छ ।
























