
काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले आजबाट अनिश्चितकालका लागि घाेषणा गरेकाे नेपाल बन्दलगायत आन्दोलनका कार्यक्रम फिर्ता लिएकाे छ । बालुवाटारमा सरकारसँग भएको वार्तापछि सो समूहले बन्द फिर्ता लिएको हो ।
महाभियानले २०८२ मंसिर ७ गतेबाट हुने गरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्ताल लगायतका कार्यक्रम घोषणा गरेको थियो । घाेषणापछि वार्ताका लागि उक्त समुहका सदस्यहरू शनिबार साँझ बालुवाटार पुगेका थिए । वार्तामा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायत थिए ।
सहमतिमा आन्दोलन फिर्ता लिने र अर्को चरणको वार्ता महाभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरुका सन्दर्भमा विस्तृत छलफल भएको पनि जनाइएको छ ।
वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोली सहभागी थियो। साथमा अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा निराजन प्रसाईं थिए । दुर्गा प्रसाईं भने जिल्ला प्रहरी कार्यालय काठमाडौंको हिरासतमा छन् ।
























