
काठमाडौँ । आसन्न प्रतिनिधिसभा चुनावलाई शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्नका लागि तीनवटै सुरक्षा निकायलाई आवश्यक पर्ने सवारीसाधन खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको गृह मन्त्रालयले जनाएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायका धेरै सवारीसाधनहरू जलेर ध्वस्त भएका र काम नलाग्ने भएका कारण अत्यावश्यक सवारीसाधन खरिदका लागि अर्थ मन्त्रालयले प्रक्रिया अघि बढाएको हो । चुनावको वातावरण निर्माण गर्न पनि अत्यावश्यक सवारीसाधन खरिद हुन जरुरी भएकाले चुनावअगाडि नै यी सवारी साधनहरू खरिद भइसक्ने विश्वास गृह मन्त्रालयले लिएको छ ।
गृह मन्त्रालयको तथ्याङ्कअनुसार जेनजी प्रदर्शनका क्रममा सुरक्षा निकायहरूमा ठूलो क्षति पुगेको थियो । देशभर नेपाल प्रहरीअन्तर्गतका ४६५ वटा कार्यालयहरूमा क्षति पुगेको थियो भने ५७१ वटा विभिन्न सवारी साधनहरूमा क्षति भएको थियो । एपीएफअन्तर्गतका कुल ८४ वटा कार्यालयहरूमा क्षति पुगेको थियो भने ६१ वटा सवारी साधनहरू पूर्ण रूपले आगजनीमा परेका थिए ।
गृह मन्त्रालयका अनुसार क्षति पुगेका कुल ४६५ वटा प्रहरी कार्यालयमध्ये कात्तिकसम्म ४४९ वटा कार्यालयहरू मर्मत सम्भार भई पूर्ण सञ्चालनमा आइसकेका छन् । बाँकी १६ वटा पनि यथाशीघ्र सञ्चालनमा ल्याउने गरी काम अघि बढिरहेको मन्त्रालयले जनाएको छ ।

























