
विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि आइतबार बिहान विराटनगर विमानस्थलमा भएको दुर्व्यवहार र आक्रमण प्रयासप्रति आपत्ति जनाएको छ ।
काठमाडौंबाट विराटनगर विमानस्थल हुँदै इटहरीमा हुने युवा जागरण कार्यक्रमतर्फ जाँदै गरेका नेताहरूको टोलीमाथि योजनाबद्ध अवरोध सिर्जना गरिएको, रातो मसी छ्यापिएको, सुनसरीको दुहबीमा ढुंगा प्रहार गर्ने, बाटो अवरुद्ध गर्ने र शारीरिक आक्रमण गर्ने प्रयाससमेत भएको एमालले उल्लेख गरेको छ । एमालेले यस्तो व्यवहारलाई व्यक्तिमाथि गरिएको हमला नभई संगठित रूपमा राजनीतिक हिंसा भड्काउने चरम प्रवृत्तिको संकेतका रूपमा व्याख्या गरेको छ ।
घटनापछि एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले जारी गरेको विज्ञप्तिमा यस प्रकारका गतिविधिले लोकतान्त्रिक मूल्य–मान्यतामाथि ठाडो प्रहार गरेको भन्दै सरकारमाथि तीव्र असन्तोष व्यक्त गरिएको छ । उनका अनुसार हालै विभिन्न स्थानमा एमाले नेताहरूमाथि देखिएको अवरोध, दुर्व्यवहार र आक्रमण प्रवृत्तिप्रति सरकार बेपरवाह देखिनु, अपराधी समूहलाई मौन संरक्षण मिलिरहेको भान पर्नु र सुरक्षा संवेदनशील बन्दै जानु गम्भीर चिन्ताको विषय बनेको छ ।
खतिवडाले सरकारले घटनालाई सामान्य ठानेर पाखा लगाउन खोज्यो भने यसले राजनीतिक अस्थिरता र अराजकता झन् बढाउने चेतावनी दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘यसअघि बाराको सिमरामा महासचिव शंकर पोखरेल सहभागी हुने कार्यक्रमपछि देखिएको अवरोध र किचलो अहिले कोशीमा दोहोरिनुले पनि सरकारका संयन्त्र आवश्यक नियन्त्रण र निरुत्साहन गर्न असफल भइरहेका छन् भन्ने प्रमाणित भएको छ ।’
एमालेका अनुसार यस्तो प्रवृत्ति भइरहनु भनेको राज्य संयन्त्रले कानुनको शासनलाई कमजोर बनाइरहेको संकेत हो, जसले नागरिकको स्वतन्त्र आवागमन, शान्तिपूर्ण राजनीतिक कार्यक्रम सञ्चालन र सुरक्षामा प्रत्यक्ष चुनौती खडा गर्छ । पार्टीले राजनीतिक असहमतिलाई हिंसा र अमर्यादित व्यवहारमा रूपान्तरण गर्ने चाल अहिले बढ्दै गएको उल्लेख गर्दै यस्तो प्रवृत्तिले राजनीतिक संस्कार मात्रै नभएर लोकतन्त्रकै आत्मालाई खतरामा पुर्याउने चेतावनी दिएको छ ।
नेताहरूका विचार, अभिव्यक्ति वा कार्यप्रति असहमति हुनु स्वाभाविक भए पनि त्यो असहमति शान्तिपूर्ण, विवेकपूर्ण र संस्थागत माध्यमबाट व्यक्त हुनुपर्ने एमालेको तर्क छ । भि उकासेर बाटो रोकेर, मसी छ्यापेर, ढुंगा प्रहार गरेर वा शारीरिक आक्रमणको प्रयास गरेर राजनीतिक प्रतिस्पर्धा अघि बढाउन खोज्नु आपराधिक मानसिकताको उपज भएको एमालेले उल्लेख गरेको छ ।
एमालेले घटनामा संलग्न व्यक्तिहरूको स्पष्ट पहिचान गरी उनीहरूलाई कानुनी दायरामा ल्याउन सरकारलाई आग्रह गर्दै यस्तो आक्रमण शैली एक प्रकारको संगठित अराजकता भएको दाबी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता कार्य दोहोरिन नदिन राज्यले कडाइका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’
एमालेले शान्तिपूर्ण राजनीतिक अभ्यास, सभासम्मेलन र खुला आवागमन संविधानले दिएको मौलिक अधिकार भएको र त्यसमा अवरोध सिर्जना गर्ने कुनै पनि क्रियाकलाप स्वीकार्य नभएको स्पष्ट गरेको छ । घटनाले स्थानीय राजनीतिक वातावरणमा समेत तनाव थपेको छ ।
विश्लेषकहरूले राजनीतिक दललाई निषेध गर्ने गरी बढ्दो असहिष्णुता, उक्साहन र भिडन्ततर्फको झुकावले भविष्यमा अझ गम्भीर जोखिम निम्त्याउन सक्ने चेतावनी दिएका छन् । एमालेले भने यस्ता घटनाले देशको राजनीतिक स्थिरता, नागरिक सुरक्षा र लोकतान्त्रिक प्रक्रिया नै प्रभावित पार्ने खतरा रहेको भन्दै ‘राज्य मौन बसे लोकतन्त्र मौन पर्छ’ भन्ने टिप्पणी गरेको छ ।
एमाले कोशी प्रदेश कमिटीले महेश बस्नेत र भानुभक्त ढकालमाथिको दुर्व्यवहारलाई लोकतान्त्रिक संस्कारविपरीत, अस्वीकार्य र आपराधिक गतिविधि ठहर गरेको छ । राजनीतिक व्यक्तिमाथिको आक्रमण एउटा दलविरुद्धको हमला नभएर सम्पूर्ण लोकतान्त्रिक मूल्यहरूमाथिको चुनौती भएकाले राज्यले तत्काल कठोर कदम चाल्नुपर्ने माग एमालेले राखेको छ ।
यस्तो छ विज्ञप्ति

























