
इलाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन सम्पन्न गर्नका लागि दुईवटा विकल्प प्रस्तुत गरेका छन् । जेनजी प्रदर्शनका क्रममा आगजनी भएको कांग्रेस इलामको पार्टी कार्यालय अवलोकनपछि कार्यकर्तालाई सम्बोधन गर्दै उनले महाधिवेशन सम्भव भएको जिकिर गरेका हुन् ।
महामन्त्री शर्माले भने, ‘समय घर्किंदै गयो, अब नियमित महाधिवेशन सम्भव हुन्छ भन्ने तपाईं साथीहरूको जिज्ञासामा म प्रस्ट छु । सबै ऐक्यबद्ध भएर जुटौँ, महाधिवेशन सम्भव छ, विकल्प दुईवटा छन् ।’
शर्माले पहिलो विकल्पका रूपमा पुस अन्तिम साताका लागि नियमित महाधिवेशन गर्ने गरी अबको बैठकबाट कार्यतालिका निर्माण गर्नुपर्ने बताए । यदि तयारीका क्रममा केही दिन समय नपुगेको अवस्थामा थप १५ दिन समय लिएर पनि महाधिवेशन सम्पन्न गर्न सकिने उनको भनाइ छ ।
उनले समानुपातिक सूची बुझाउने मिति वा फागुन २१ को चुनाव पनि केही पछि सर्नसक्ने सम्भावना रहेको औँल्याए । शान्तिपूर्ण वातावरण र हिमाली क्षेत्रको मौसमी प्रतिकूलतालाई दृष्टिगत गरेर राजनैतिक सहमतिको माध्यमबाट चुनावको मिति थोरै सार्नु उत्तम हुने उनको तर्क छ ।
महामन्त्री शर्माले महाधिवेशनका लागि प्रस्तुत गरेको दोस्रो विकल्प भने ऐतिहासिक ‘सुवर्ण शमशेर पथ’ पछ्याउनु रहेको बताएका छन् । यो भनेको तत्कालीन सभापति सुवर्ण शमशेरले २०१४ सालमा गरेझैं वर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन बोलाएर मार्गप्रशस्त गर्नु हो ।
उनले १४औँ महाधिवेशनका करिब ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनका लागि गरेको हस्ताक्षरलाई सम्बोधन नगरी पार्टी अगाडि बढ्न नसक्ने बताए । ५४ प्रतिशत हस्ताक्षरलाई सम्बोधन गरेर अगाडि बढेमा २०८२ मंसिर मसान्तमा विशेष महाधिवेशन र २०८३ मंसिरमा नियमित महाधिवेशन गर्न सकिने उनले बताए ।
























