एमालेको महाधिवेशन प्रतिनिधि छनोटमा ५ बुँदे निर्देशन

Share this
784shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ९, मंगलबार ०९:०५

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र प्रतिनिधि छनोट प्रक्रियालाई एकै ढंगले, विवादरहित र समयबद्ध बनाउने उद्देश्यले संगठन विभागले ५ बुँदे निर्देशन जारी गरेको छ ।

स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले भर्चुअल बैठकमार्फत जारी गरेका निर्देशनहरूलाई महाधिवेशनपूर्वको अन्तिम कार्ययोजना मानिएको छ । निर्देशनअनुसार सबै निर्वाचन क्षेत्रहरूले सर्वप्रथम आफ्नो अन्तिम मतदाता सूची अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ ।

यसका लागि केन्द्रीय कमिटीले पठाएको पछिल्लो परिपत्रलाई आधार बनाउन भनिएको छ । प्रकाशित मतदाता सूचीको संख्या केन्द्रीय संगठन विभागलाई तत्काल पठाउनुपर्ने व्यवस्था पनि सोही निर्देशनमा समावेश गरिएको छ ।

प्रतिनिधि छननोटमा सहमतिको सम्भावना खुला राख्दै मंसिर १२ गतेसम्म सर्वसहमतिको अन्तिम प्रयास गर्न भनिएको छ । सहमति असफल भएमा मंसिर १३ गते निर्वाचन प्रक्रियामा प्रवेश गरी प्रतिनिधि छननोट सक्नुपर्ने निर्देशन छ ।

संगठन विभागले कुनै पनि बहानामा मंसिर १३ मा तोकिएको प्रक्रिया सार्न नपाइने जनाएको छ । यता केही जिल्लाहरूमा उम्मेदवारी दर्ता शुल्क अत्यधिक तोकिएको गुनासो आएपछि संगठन विभागले हस्तक्षेप गर्दै शुल्क अधिकतम १ हजार रुपैयाँभन्दा बढी असुल्न नपाइने व्यवस्था मिलाएको छ ।

प्रतिनिधि छनोटका लागि तोकिएका नेता तथा परिचालनकर्ताहरूलाई समयमा नै आफ्नो कार्यक्षेत्रमा पुगेर प्रक्रिया सहज बनाउन पनि निर्देशन दिएको छ । मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने ११ औँ महाधिवेशनका लागि देशभरका निर्वाचन क्षेत्र तथा प्रवास कमिटीहरूबाट मंसिर १३ कै दिन प्रतिनिधि छनोट सकिने छ ।

यस महाधिवेशनमा झण्डै २ हजार २ सय प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । यस निर्देशनसँगै एमाले अब महाधिवेशन प्रतिनिधि छनोटलाई विधि, समयमै र एकरूपतापूर्वक सम्पन्न गर्ने तयारीमा देखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.