
विराटनगर । निर्वाचन आयोगले पछिल्लो पटक गरेको मतदाता नामावली सङ्कलन कार्यक्रमअन्तर्गत कोशी प्रदेशमा १ लाख ५७ हजार ६ सय १३ नयाँ मतदाता थपिएका छन् । गत असोज १० देखि मंसिर ५ गतेसम्मको अवधिमा कोशी प्रदेशका १४ जिल्लामा यो संख्यामा नयाँ मतदाताको नाम दर्ता भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
नयाँ थपिएका मतदातामध्ये कार्यालयमै पुगेर फोटोसहितको नामावली दर्ता गर्नेको संख्या ५८ हजार ९ सय २५ रहेको छ भने बाँकी ९८ हजार ६ सय ८८ मतदाता राष्ट्रिय परिचयपत्रको अभिलेखका आधारमा थपिएका हुन् । यसअघि, कोशी प्रदेशमा कुल मतदाताको संख्या ३४ लाख ३३ हजार ९ सय रहेको थियो ।
सबैभन्दा बढी नयाँ मतदाता थपिने जिल्लाहरूमा मोरङबाट ४४ हजार ४०२, झापाबाट ३५ हजार ३ सय १९, र सुनसरीबाट ३२ हजार ३ सय ८२ जना रहेका छन् । अन्य पहाडी जिल्लाहरूमा पनि उल्लेख्य संख्यामा मतदाता थपिएका छन् ।
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन का लागि यी नयाँ मतदातालाई समावेश गर्न नामावली सङ्कलन गरेको हो । हाल सङ्कलन भएका विवरणहरूको अद्यावधिक गर्ने, दोहोरिएका नाम हटाउने तथा त्रुटि सच्याउने कार्य भइरहेको आयोगले जनाएको छ ।

























