विभिन्न दुर्घटनामा ६ जनाको मृत्यु

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १०, बुधबार १२:४९

काठमाडौँ । ललितपुर, तनहुँ, धनुषा लगायत देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। ललितपुरको ललितपुर महानगरपालिका–१५ चापागाउँ दोबाटोस्थित सडकमा बुधबार बिहान ट्रक र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा काठमाडौँ कीर्तिपुरका २२ वर्षीय सुशान्त बस्नेतको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

त्यस्तै, तनहुँको घिरिङ गाउँपालिका–४ रामकोटस्थित सडकमा मङ्गलबार दिउँसो मोटरसाइकल र टिपर ठक्कर खाँदा भिमाद नगरपालिकाका बुद्धिबहादुर चन्दको प्रदेश अस्पताल दमौलीमा उपचारका क्रममा मृत्यु भएको थियो। टिपर चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उता धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० मा मङ्गलवार राति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा नगराइन नगरपालिकाका मुकेश झाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा निधन भएको छ।

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–१ मा मङ्गलबार साँझ बसको ठक्करबाट सोही स्थानका ६५ वर्षीय साइकल यात्री जन्त्री चमारको गम्भीर घाइते अवस्थामा लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ सिमबजारस्थित सडकमा बोलेरो जिपसँग मोटरसाइकल ठक्कर खाएर भएको दुर्घटनामा जाजरकोटका सिताराम चदराको गए राति जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको छ। यस दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनालाई थप उपचारको लागि प्रदेश अस्पताल रिफर गरिएको छ।

नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारस्थित सडकमा मङ्गलबार साँझ मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ८० वर्षीय पैदल यात्री लीलानाथ कोइरालाको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। उक्त दुर्घटनामा मोटरसाइकल चालक सहित २ जना घाइते भई अस्पतालमा उपचाररत छन्।

प्रहरीले सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.