
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सुरक्षार्थ सरकारले म्यादी प्रहरीको संख्या उल्लेख्य रूपमा बढाउने तयारी गरेको छ ।
चुनावका लागि नेपाली सेनासमेत १ महिना अगावै परिचालन गर्ने तयारी भइरहेको छ । प्रहरी प्रधान कार्यालयले यसपालि कम्तीमा १५–२० प्रतिशत म्यादी बढाउनुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । यसअघि २०७९ को निर्वाचनमा १ लाख १५ हजार म्यादी भर्ना गरिएको थियो ।
आगामी निर्वाचनका लागि १ लाख ३२ हजारभन्दा बढी संख्यामा म्याद प्रहरी भर्नाको तयारी गरिएको छ । मतदाता संख्या बढ्नु, लुटिएका १ हजार २ सय ७१ हतियारमध्ये करिब आधा अझै फिर्ता नआउनु, जेनजी आन्दोलनपछि भागेका १४ हजार कैदीबन्दीमध्ये करिब ५ हजार अझै फरार रहनु, करिब ९८ हजार राउन्ड गोली हराउनुजस्ता कारणले सुरक्षा चुनौती बढेको विश्लेषण छ ।
गृह मन्त्रालयले अन्तिम मतदाता नामावली आएपछि म्यादीको ठ्याक्कै संख्या निश्चित हुने जनाएको छ । भर्ना, छनोट र तालिमसमेत गरेर म्यादी प्रहरी तयार पार्न कम्तीमा ३४ दिन लाग्ने भएकाले सरकारले चाँडै निर्णय गर्ने छ ।
यसपटक सेवा सुविधासहित ४० दिनका लागि म्यादी प्रहरी खटाइनेछ । म्यादीका लागि १८ देखि ५४ वर्ष उमेर हद र अवकाशप्राप्त सेना, प्रहरी तथा एपीएफलाई विशेष प्राथमिकतामा राखिने छ ।
सुरक्षा योजनाअन्तर्गत मतदान केन्द्रमा ३ तहको सुरक्षा घेरा रहनेछ । पहिलो घेरामा नेपाल प्रहरी र म्यादी, दोस्रोमा सशस्त्र र तेस्रो सुरक्षा घेरामा नेपाली सेना रहने छन् ।
केन्द्रीय सुरक्षा समितिले बनाएको ‘एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२’मा यो विषय उल्लेख छ । सेना परिचालनको प्रस्ताव राष्ट्रिय सुरक्षा परिषद्मा अनुमोदन भइसकेकाले अब मन्त्रिपरिषद्को औपचारिक निर्णय मात्र बाँकी छ ।
यस्तै, चुनावका लागि नेपाल प्रहरीले मात्र ८० करोडभन्दा बढीका सवारी साधन खरिद गरिरहेको छ । सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले समेत सवारी खरिद अनुमति पाइसकेका छन् ।

























