
काठमाडौँ । नेपाली कांग्रेसको ‘विशेष महाधिवेशन हस्ताक्षर अभियान’ ले पार्टी नेतृत्वले विधानअनुसार महाधिवेशन प्रतिनिधिको मागलाई निरन्तर बेवास्ता गरेको भन्दै गहिरो असन्तुष्टि व्यक्त गरेको छ। अभियानले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेको हो।
अभियानका नेतृत्वकर्ता देवराज चालिसेले ‘करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार वैधानिक रूपमा अघि सारेको मागलाई नेतृत्वले आजसम्म बेवास्ता गरेकोमा’ दुःख व्यक्त गरे।
चालिसेले नियमित महाधिवेशनको मिति तोक्न आनाकानी गर्नु र विशेष महाधिवेशनको माग सम्बोधन नगरी केन्द्रीय समितिको बैठकलाई अनावश्यक रूपमा लम्ब्याइरहनुलाई ‘कुनै पनि हिसाबले जिम्मेवार नेतृत्वको परिचय नभएको’ बताए।
उनले पार्टीको आन्तरिक जीवन र महाधिवेशन प्रक्रियामा देखिएको लामो अन्योल र निर्णयहीनताको सम्पूर्ण जिम्मेवारी वर्तमान केन्द्रीय नेतृत्वले लिनुपर्ने बताएका छन्। विशेष महाधिवेशनको माग सम्बोधन नभएपछि अभियानले नेतृत्वविरुद्ध आक्रोश व्यक्त गरेको हो।
























