९ प्रकारका नयाँ औषधि उत्पादनको तयारी, विदेशी निर्भरता घट्ने

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १२, शुक्रबार ११:१४

काठमाडौं । देशमा औषधिको उपलब्धता र पहुँच विस्तार गर्ने महत्त्वपूर्ण उद्देश्यका साथ नेपाल औषधि लिमिटेडले ९ प्रकारका नयाँ औषधि उत्पादनको तयारी तीव्र पारेको छ। लिमिटेडले हाल यी औषधिहरूको तेस्रो महिनाको परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेको छ भने आगामी तीन महिनाभित्र ६ महिनाको परीक्षण अवधि पूरा गर्ने लक्ष्य राखेको छ।

नयाँ उत्पादनको सूचीमा दैनिक जीवनमा धेरै मानिसहरूलाई आवश्यक पर्ने अत्यावश्यक औषधिहरू समावेश छन्: जुकाको औषधि, मधुमेहको औषधि, उच्च रक्तचापको औषधि, कोलेस्ट्रोल नियन्त्रणको औषधि, आइरन चक्की, फोलिक एसिड

यी औषधिहरूको स्वदेशमै उत्पादनले आम नागरिकलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। छिट्टै व्यावसायिक उत्पादन सुरु हुने लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी गराए । यी औषधिहरूको आवश्यक परीक्षण पूरा भएलगत्तै आगामी महिनाभित्र औषधि व्यवस्थापन विभागबाट उत्पादन अनुमति लिई व्यावसायिक उत्पादन सुरु गरिनेछ।

महाप्रबन्धक पनेरुले भने, “हामी देशमै गुणस्तरीय र सस्तो औषधि उपलब्ध गराउन प्रतिबद्ध छौं। यी ९ प्रकारका औषधिहरूको उत्पादनले यो लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ।” हाल नेपाल औषधि लिमिटेडले ११ प्रकारका औषधिहरू उत्पादन गर्दै आइरहेको छ। नयाँ ९ प्रकारका औषधिको थप उत्पादनसँगै लिमिटेडको उत्पादन क्षमता र बजार विस्तार हुनेछ। यसले गर्दा विदेशी औषधिमाथिको निर्भरता घट्ने र नेपाली बजारमा औषधिको मूल्यमा समेत स्थिरता आउने विश्वास गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.