एमाले महाधिवेशन प्रतिनिधि : मोरङबाट कुन पक्षका कति ?

Share this
657shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १४, आइतबार ११:५०

विराटनगर । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि मोरङ जिल्लाबाट प्रतिनिधि चयनको अन्तिम मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ। हालसम्म सर्वसम्मत एकसहित ५ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ।

हालसम्म सार्वजनिक परिणाम अनुसार, मोरङमा अध्यक्ष केपी शर्मा ओली पक्षका १९ जना र वरिष्ठ नेता ईश्वर पोखरेल पक्षका १४ जना गरी कुल ३३ जना प्रतिनिधि निर्वाचित भएका छन्। क्षेत्र नं. ४ बाट एक प्रतिनिधि गुणावती धामी भने दुवै समूहको समर्थनमा रहेर निर्वाचित भएकी छिन्।

प्रतिनिधिसभाका ६ र एक दलित गरी कुल ७ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा क्षेत्र नं. ३ र दलित क्षेत्रको मतगणना जारी छ।

ओली पक्षबाट क्षेत्र नं. १ का सबै उम्मेदवारहरू डिल्लीराम शर्मा अधिकारी, गंगाप्रसाद खरेल, उमाकान्त गौतम, बुद्धिमान लिम्बू, उर्गेन तामाङ, शान्तिकुमारी लिम्बू, मेनु पाण्डे र सरला राई निर्वाचित भएका छन्। त्यसैगरी, क्षेत्र नं. २ बाट ऋषिकेश पोखरेल, श्याम राजवंशी, सुशील बुढाथोकी, करण ठाकुर र रामजना अधिकारी (निर्विरोध) निर्वाचित भएका छन्। क्षेत्र नं. ४ बाट नरेन्द्र बस्नेत, मुकेश बुढाथोकी, विमला घिमिरे र राम पोखरेल तथा क्षेत्र नं. ५ बाट दिलिप बगडिया र शान्त डङ्गोल (निर्विरोध) निर्वाचित भएका छन्।

नेता पोखरेल समूहबाट क्षेत्र नं. ६ का सबै उम्मेदवारहरू रमेशप्रसाद पोखरेल, पितकुमार श्रेष्ठ, विनोदप्रसाद ढकाल, सत्यनारायण चौधरी, सरस्वती भण्डारी, सरस्वती खरेल र सन्तोष घिमिरे निर्वाचित भएका छन्। यस्तै, क्षेत्र नं. २ बाट लिलाबल्लभ अधिकारी र गीतादेवी बानियाँ कार्की (निर्विरोध) निर्वाचित भएका छन्। क्षेत्र नं. ४ बाट महेशप्रसाद भट्टराई तथा क्षेत्र नं. ५ बाट ज्ञानेश्वर राजवंशी, मनोज अग्रवाल, उषा झा र मो. अमित आजाद निर्वाचित भएका छन्।

मोरङबाट कुल ४६ महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुपर्नेमा हालसम्म ३४ जना (गुणावती धामी सहित) निर्वाचित भइसकेका छन्। अब क्षेत्र नं. ३ र दलित क्षेत्रबाट १२ जना प्रतिनिधि निर्वाचित हुन बाँकी छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.