एमाले मोरङमा उलटफेर: इतर समूहको पकड खुस्कियो

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १४, आइतबार १९:१३

विराटनगर । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटको नतिजाले मोरङको आन्तरिक शक्ति सन्तुलनमा अप्रत्याशित फेरबदल ल्याएको छ । यसअघि फागुनमा सम्पन्न १०औँ जिल्ला अधिवेशन र महानगर अधिवेशनमा समेत हाबी रहेको इतर (विनोद ढकाल पक्ष) समूहलाई महाधिवेशन प्रतिनिधि छनोटमा ठूलो धक्का लागेको हो ।

जिल्ला र नगर अधिवेशनमा इतर समूहको नेतृत्व गरेका केही प्रभावशाली नेताहरू महाधिवेशन प्रतिनिधि छनोटको क्रममा संस्थापन समूहमा लागेपछि इतर पक्ष तुलनात्मक रूपमा कमजोर बनेको हो ।

मोरङमा ४६ जना प्रतिनिधि छन्। परिणाम सार्वजनिक भएपछि दुवै पक्षले आफ्नो दाबी गरेका छन्, तर सङ्ख्यामा भने फरक देखिएको छ । संस्थापन पक्षको दाबी अनुसार कुल ४६ प्रतिनिधिमध्ये २७ जना संस्थापन समूहका छन् । जिल्ला उपाध्यक्ष सागर थापाका अनुसार दुवै पक्षमा २३–२३ जना निर्वाचित भएका छन् ।

क्षेत्रगत परिणाम: प्यानल भर्सेस मिश्रित

महाधिवेशन प्रतिनिधि छनोटमा मोरङका ६ निर्वाचन क्षेत्र र १ दलित क्षेत्रको परिणाम मिश्रित रूपमा आएको छ । क्षेत्र नम्बर १ मा संस्थापन पक्षको प्यानल नै विजयी भएको छ । डिल्लीराम शर्मा अधिकारी, गंगाप्रसाद खरेल, उमाकान्त गौतम, बुद्धिमान लिम्बू, उर्गेन तामाङ, शान्तिकुमारी लिम्बू, मेनु पाण्डे र सरला राई संस्थापन पक्षबाट निर्वाचित भए ।

क्षेत्र नम्बर ६ भने इतर समूहको पकडमा रह्यो।  यहाँबाट रमेशप्रसाद पोखरेल, पितकुमार श्रेष्ठ, विनोदप्रसाद ढकाल, सत्यनारायण चौधरी, सरस्वती भण्डारी, सरस्वती खरेल र सन्तोष घिमिरेको प्यानल विजयी भयो ।

क्षेत्र नम्बर ५ मा प्रतिनिधि सर्वसम्मत चयन भएका थिए। जसमा संस्थापन पक्षबाट २ र इतर पक्षबाट ४ जना निर्वाचित भएका छन् । क्षेत्र नम्बर २, ३ र ४ मा भने मिश्रित परिणाम आयो । क्षेत्र नम्बर २ बाट ऋषिकेश पोखरेल, श्याम राजवंशी, सुशील बुढाथोकी, करण ठाकुर तथा लिलाबल्लभ अधिकारी निर्वाचित भए ।

क्षेत्र नम्बर ४ मा निर्वाचित मुकेश बुढाथोकी निर्वाचनअघि इतर समूहमा रहे पनि निर्वाचनको बेला संस्थापन समूहमा लागेका थिए । उनकै साथमा नरेन्द्र बस्नेत, विमला घिमिरे र राम पोखरेल संस्थापन पक्षबाट निर्वाचित भए । यसरी निर्णायक समयमा भएको नेताहरूको कित्ता परिवर्तनले जिल्लाको आन्तरिक राजनीतिमा शक्ति सन्तुलन संस्थापन पक्षतिर मोडिएको देखिएको छ ।

दलित निर्वाचन क्षेत्रबाट पनि ओली पक्षका किशोर विक र रिंकु परियार तथा इतर पक्षबाट खेम नेपाली निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.