
विराटनगर । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारलाई निर्धारित समयमै निर्वाचन गराउन कडा रूपमा आग्रह गरेका छन् ।
पार्टी एकीकरणपछि नेकपाले सन्देश सभाहरू आयोजना गरेर चुनावी माहोल बनाइरहेको उल्लेख गर्दै प्रचण्डले फागुन २१ गते नै चुनाव हुनुपर्ने कुरामा जोड दिए ।
“सरकार गठनमा हाम्रो पनि भूमिका छ । सरकारले बुझोस्, कुनै आग्रह पूर्वाग्रह नराखोस्, तोकिएकै मितिमा चुनाव हुनुपर्छ,” उनले ठाडो भनाइ राखे ।
प्रचण्डले अन्तरिम सरकारका मन्त्रीहरूलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न चेतावनी दिएका छन् । उनको भनाइ छ कि यस सरकारलाई त्यस्ता कार्य गर्ने म्यान्डेट नै छैन ।
तोकिएको मितिमा निर्वाचन गराउन, दैनिक प्रशासनिक कार्य र निर्वाचनको तयारीमा केन्द्रित रहन, दीर्घकालीन असर गर्ने निर्णयबाट टाढा रहन प्रचण्डले आग्रह गरे ।
देशको वर्तमान समस्या समाधानका लागि प्रचण्डले लोकतान्त्रिक पार्टीहरूलाई सहकार्यका लागि आह्वान गरेका छन् ।उनले नेपालको शान्ति प्रक्रिया कम्युनिस्ट र लोकतान्त्रिक शक्ति मिलेरै अघि बढाएको स्मरण गराए । साथै, ‘जेनजी आन्दोलन’ पछिको जटिल परिस्थितिलाई निकास दिनका लागि पनि सबै पक्षले एकजुट भएर काम गर्नुपर्ने खाँचो औंल्याए ।
























