फाइल तस्बिरकाठमाडौँ । मङ्सिर १५ गते बिहानदेखि १६ गते बिहानसम्मको २४ घण्टाको अवधिमा देशभर कुल २० वटा विपद्का घटना रिपोर्ट भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा प्राप्त विवरणमध्ये अधिकांश अर्थात् १७ वटा घटना आगलागीका मात्रै छन्।
आगलागीका यी घटनाबाट मात्रै ८२ लाख ९१ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ। सिरहामा तीन र भोजपुरमा दुई घटनासहित पाँचथर, मोरङ, उदयपुर, सप्तरी, रौतहट, बारा, पर्सा, ललितपुर, कास्की, कपिलवस्तु, गुल्मी र बाँके गरी देशभर आगलागीका घटनाहरू भएका थिए।
आगलागी बाहेकका तीन वटा घटनामा मुस्ताङमा लेक लागेको, महोत्तरीमा सर्पदंश र पर्सामा जनावर आक्रमणको घटना दर्ता भएको छ। विशेषगरी, पर्साको पर्सागढी नगरपालिका ३ झुलिटार बस्ने ५५ वर्षीया एक महिला जंगलमा घाँस काट्न जाँदा बाघको आक्रमणबाट घाइते भएकी थिइन्।
प्राधिकरणको विवरण हेर्दा अधिकांश आगजनीका घटनाहरू असावधानीका कारण भएको देखिन्छ। गाइगोठमा खोले पकाउँदा, सुँगुरलाई चारो तताउँदा, ग्यास चुल्हो बालेर आगो ताप्दा वा विद्युत्को तार सर्ट हुँदा आगलागी भएका पाइएको छ। यसैगरी, अचानक विद्युतीय सवारी साधनमा आगलागी भएको घटना पनि दर्ता भएको छ। सामान्य सावधानी अपनाउँदा जनधनको क्षति हुनबाट जोगाउन सकिने भए पनि असावधानी र जनचेतनाको अभाव देखिएको प्राधिकरणले जनाएको छ।























