
काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ ले आज, बुधबार, औपचारिक रूपमा आफ्नो पार्टी घोषणा गर्दैछ । राजनीतिक मैदानमा अर्को नयाँ शक्ति थपिने क्रममा यो घोषणालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
पार्टीको घोषणा सभा आज दिउँसो १ बजेदेखि ४ बजेसम्म काठमाडौँको प्रज्ञा भवन, कमलादीमा आयोजना हुँदैछ। घोषणा सभालाई सम्बोधन गर्न स्वयं ऊर्जामन्त्री तथा पार्टीका संरक्षक कुलमान घिसिङ प्रमुख अतिथिका रूपमा उपस्थित हुने बताइएको छ ।
सोही अवसरमा पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येयसहितको घोषणापत्र २०८२ समेत सार्वजनिक गरिनेछ। पार्टीले आफ्नो सैद्धान्तिक दृष्टिकोणलाई लोकतान्त्रिक समाजवाद का रूपमा अगाडि बढाउने जनाएको छ। पार्टीले यसअघि नै विज्ञप्ति जारी गर्दै आफूलाई वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गरेको थियो ।
पार्टीले आम नेपाली जनताको विश्वास र भरोसा पाएको नेतृत्व तथा ‘कुरा गरेर होइन, कामबाट प्रमाणित नेतृत्व’ भएको दाबी गरेको छ।
























