बहालवाला सांसदलाई आगामी निर्वाचनमा उम्मेदवार नबनाइने

Share this
802shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १८, बिहीबार १०:५२

काठमाडौं। नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिसको मापदण्ड स्पष्ट पार्दै राष्ट्रियसभा र प्रदेशसभामा हाल बहालमा रहेका कुनै पनि व्यक्तिलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। पार्टीले मातहतका कमिटीहरूलाई हाल बहालमा रहेका व्यक्तिहरूको नाम सिफारिस नगर्न स्पष्ट निर्देशन दिएको छ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले यसअघिको उम्मेदवार सिफारिससम्बन्धी परिपत्रलाई थप प्रष्ट्याउँदै नयाँ परिपत्र जारी गरेका छन्। परिपत्रमा स्पष्ट भनिएको छ, “राष्ट्रियसभामा हाल बहाल रहनुभएका माननीय सांसदहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन, साथै प्रदेशसभामा हाल बहाल रहनुभएका प्रदेशसभा सदस्यहरूको नाम पनि उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन।”

यसबाहेक, कांग्रेसले स्थानीय तहमा हाल बहाल रहेका निर्वाचित जनप्रतिनिधिहरूलाई पनि प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ तथा राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारका लागि सिफारिस नगर्न भनेको छ। पार्टीले प्रदेशसभा निर्वाचन–२०७९ मा समानुपातिकतर्फको बन्दसूचीमा समावेश भएका उम्मेदवारहरूको नाम पनि आसन्न निर्वाचनका लागि सिफारिस गर्न नपाइने व्यवस्था गरेको छ।

कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि एक महिलासहित बढीमा तीन जना, समानुपातिकतर्फ समावेशी सिद्धान्तलाई ध्यानमा राखी कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्न निर्देशन दिएको छ। यस्तै, राष्ट्रियसभा निर्वाचनका लागि प्रत्येक एक सिटका लागि तीन जनाको नाम सिफारिस गर्न भनिएको छ। परिपत्रअनुसार, नाम सिफारिस गर्ने बैठकमा सहमति हुन नसकेमा बहुमतबाट निर्णय गर्नुपर्नेछ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.