फाइल तस्बिरकाठमाडौं । मुलुक संवेदनशील मोडमा पुगेको भन्दै ३० जना नागरिक अगुवाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सरोकारवालाहरूलाई तोकिएको निर्वाचनमा केन्द्रित हुन अपिल गरेका छन्। उनीहरूले म्यान्डेट र क्षमताभन्दा बाहिरको माग राखेर सरकारलाई कमजोर नबनाउन आग्रह गरेका छन्।
२१ फागुनमा तोकिएको निर्वाचनमा ध्यान केन्द्रित गर्न र त्यसबाटै संविधानको प्रक्रिया जीवन्त राख्ने बाटोमा अघि बढ्न नागरिक अगुवाहरूले माग गरेका छन्। म्यान्डेट बाहिरको माग नराख्न: “निर्वाचनको म्याण्डेट लिएर बनेको सरकारमाथि उसको म्याण्डेट र क्षमताभन्दा बाहिरका माग राख्ने… गतिविधिहरूले राष्ट्रलाई झनै कमजोर बनाउने निश्चित छ,” विज्ञप्तिमा भनिएको छ।
जेनजी (नवयुवा) आन्दोलनपछि मुलुक संवेदनशील र जटिल मोडमा पुगेको भन्दै, अब स्थिरतासहित लगमा फर्काउन सरकार, दलहरू र जेनजीहरू सक्रिय हुनुपर्ने अपिल गरिएको छ। “सफल निर्वाचनमै सरकारको औचित्य पुष्टि हुने सत्यतालाई मनन गर्दै सरकारको प्रयास र कामकारवाही त्यसमै केन्द्रित होस्…” भनी खबरदारी गरिएको छ।
सरकार असफल भएर निर्धारित मितिमा निर्वाचन हुन नसकेमा उत्पन्न हुने रिक्तता र अनिश्चितताले देशलाई गम्भिर र दुरगामी असर पर्ने भन्दै निर्वाचनमै केन्द्रित हुनुपर्ने सुझाव दिइएको छ।
३० जना नागरिक प्रतिनिधिहरूको तर्फबाट केदारभक्त माथेमाले अपिलमा हस्ताक्षर गरेका छन्। अपिलमा हस्ताक्षर गर्ने अगुवाहरू- अमृता लम्साल, अर्चना थापा, इन्द्रा अधिकारी, उद्दव प्याकुरेल, कनकमणि दीक्षित, कृष्ण खनाल, कृष्ण पोख्रेल, खगेन्द्र संग्रौला, गजाधर सुनार, गेजा शर्मा वाग्ले, चन्द्रकिशोर, चरण प्रसाई, जेबी बिश्वकर्मा, तुलानारायण साह, दिपेन्द्र झा, दोभान राई, प्रदिप खतिवडा, भोजराज पोखरेल, महेश मास्के, राजेन्द्र दाहाल, स्टेला तामाङ, सूर्य ढुंगेल, सुबोधराज प्याकुरेल, सुशिल प्याकुरेल, हरि शर्मा, विजयकान्त कर्ण, विजय तिमिल्सिना, विद्याधर मल्लिक, र वीरेन्द्रप्रसाद मिश्र।

























