एमाले महाधिवेशन प्रतिनिधि छनोटमा ‘विभेद’

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १९, शुक्रबार १४:२६

काठमाडौँ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा देखिएको विवाद चुलिएको छ । प्रतिनिधि छनोटमा ‘भेदभाव’ भएको भन्दै असन्तुष्ट कार्यकर्ताहरूले शुक्रबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा प्रदर्शन गरेका छन् ।

यसै क्रममा कार्यालय परिसरमा नै पार्टीका कार्यकर्ताहरूबीच भनाभन र धकेलाधकेल भएको छ । एमाले आदिवासी जनजाति लोकतान्त्रिक महासङ्घका केही सदस्यहरू प्रतिनिधि छनोटको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विरोध गर्न कार्यालय पुगेका थिए ।

सोही क्रममा उनीहरूको सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीसँग विवाद हुँदा परिस्थिति तनावग्रस्त बनेको थियो ।  आक्रोशित कार्यकर्ता र कार्यालयमा रहेका अर्को पक्षका कार्यकर्ताबिच धकेलाधकेलको अवस्था आएको बताइएको छ ।

प्रतिनिधि छनोटमा एकलौटी गरिएको र विधि मिचिएको भन्दै देशभरका केही जिल्लाहरूमा विवाद देखिएको छ ।ओखलढुङ्गा, धनकुटा, दाङ, बझाङ, डोटी र सल्यान लगायतका जिल्लाहरूमा विवाद देखिएको छ । धनकुटा र ओखलढुङ्गामा प्रतिनिधि छनोटको निर्वाचन केन्द्रले बदर गरिदिएको छ ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने तयारी छ । महाधिवेशन नजिकिँदै गर्दा प्रतिनिधि छनोटमा देखिएको यो विवादले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र एकतामाथि प्रश्न उठाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.