
जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख डाक्टर सुरेन्द्र लाभले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
सात दलीय गठबन्धनबाट यादव मुख्यमन्त्री बनेका हुन् । काङ्ग्रेस जसपा नेपाल जनमत नेकपा माओवादी केन्द्र लोसपा र एकीकृत समाजवादीका ७७ जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।
संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले गत मङ्सिर १७ गते राजीनामा दिएपछि उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो ।
























