कोशीका डीआईजीले गरे जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २२, सोमबार १७:१४

विराटनगर । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले सोमबार जिल्ला प्रहरी कार्यालय मोरङको स्थलगत निरीक्षण गरेका छन् ।

घिमिरेले जिल्ला प्रहरी कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गरेका हुन् । त्यस क्रममा उनले जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटका प्रहरी अधिकृत र जवानहरुलाई आवश्यक निर्देशनसमेत दिएका छन् ।

कोशी प्रदेशको राजधानी विराटनगर रहेको मोरङ जिल्लामा प्रहरीको दैनिक कामकारबाही चुस्त, दुरुस्त हुनुपर्ने बताउँदै डीआईजीले घिमिरेले शान्ति सुरक्षालाई प्रभावकारी बनाउन निर्देशन दिए । भारतसँगको खुला सिमानाका कारण हुने सम्भावित अपराधिक गतिविधि, चोरी तस्करी, लागुऔषध एवं हतियारको ओसारपसारलाई नियन्त्रण गर्न प्रहरी सक्रियता बढाउनुपर्नेमा उनको जोड छ ।

सीमा क्षेत्रमा कडाइका साथ चेकजाँचको व्यवस्था मिलाउन र कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको पिरमर्कालाई प्राथमिकतामा राखेर प्राविधि मैत्री सेवा प्रदान गर्न घिमिरेको निर्देशन छ । उनले नागरिक मैत्री सेवा प्रवाहमा प्रहरीले जोड दिनुपर्ने बताउँदै संगठनको उद्देश्यविपरीत काम गर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याइने चेतावनी दिए ।

विभिन्न स्थानमा लामो तथा छोटो दूरीको गस्ती परिचालन गरी नागरिकको समस्याको सुनुवाइ गर्दै जनस्तरमा चेतना फैलाउन प्रहरीले भूमिका खेल्नुपर्ने घिमिरेले बताए । उनले सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमहरु प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

निरीक्षण भ्रमणका क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेलाई मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जिल्लाको शान्ति सुरक्षाको अवस्था र पछिल्लो वस्तुस्थितिका बारेमा अवगत गराएका थिए । डीआईजी घिमिरेको भ्रमणमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी सुमनकुमार तिम्सिनालगायतका प्रहरी अधिकारीहरुको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.