दुर्गा प्रसाईंले प्रधानमन्त्रीसँग माफी मागे, मूर्ति उपहार दिए

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २२, सोमबार १८:३७

काठमाडौं । नागरिक बचाउ दलका संरक्षक एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक एवं विवादास्पद छविका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीसँग आफ्ना विगतका अभिव्यक्तिप्रति माफी मागेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आफ्ना मागका बारेमा वार्ता गर्न पुगेका प्रसाईंले ‘मैले बोलेका केही विषयमा माफी चाहन्छु, सरी भन्छु’ भनेर आत्मालोचना गरेका हुन् । वार्तामा प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थिति थियो । प्रसाईंले आफ्नो अभियानका मागहरू पुनः स्मरण गराउँदै सरकारलाई ती मागको पालना गर्न दबाब दिएका थिए ।

प्रसाईंले प्रधानमन्त्री कार्कीलाई दुईवटा धार्मिक प्रतीकका मूर्ति उपहार दिए । दुर्गा भवानीको मूर्ति दिँदै उनले प्रधानमन्त्रीलाई ‘दुर्गा माताको स्वरूपमा देशको जिम्मेवारी बहन गर्न’ आग्रह गरेका थिए । त्यसपछि उनले भगवान बुद्धको मूर्ति पनि उपहार दिएका थिए ।

धार्मिक–सांस्कृतिक सन्देश बोकेको यो क्षणले वार्ताको राजनीतिक स्वरूपमा फरक ढंगको माहोल सिर्जना गरेको थियो । वार्तामा सहभागी स्रोतका अनुसार प्रसाईंले प्रधानमन्त्रीलाई ‘तपाईं माता दुर्गा जस्तै भएर कठोर र निर्णायक भएर काम गर्नुपर्छ’ भन्दै आफ्ना मागलाई नैतिक र धार्मिक आस्थासँग जोडेर प्रस्तुत गरे ।

वार्तामा प्रसाईं पक्षबाट करिब १९ जना सहभागी थिए । उनीहरूले सरकारसमक्ष पहिल्यै बुझाइसकेको २७ बुँदे मागपत्रको मुख्य विषयवस्तु पुनः उठाउँदै त्यसको तत्काल कार्यान्वयन हुनुपर्ने अडान दोहोर्‍याए ।

ती मागहरूमा वर्तमान संविधान खारेज गरी नयाँ संविधान निर्माण गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखको व्यवस्था लागू गर्ने, धर्मनिरपेक्षता हटाएर हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने, विदेशी प्रभावबाट राष्ट्रियता जोगाउने, सार्वजनिक शान्ति र व्यवस्थामा खलल पुर्‍याउने तत्वहरूमाथि कठोर नियन्त्रण गर्ने जस्ता विषय समावेश छन् ।

प्रसाईंले यसअघि राखिएका मागहरू सरकारले कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि प्रकट गरेका थिए । विशेषगरी मंसिर १२ गते गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएको छलफलपछि सरकारले देखाएको प्रतिबद्धता व्यवहारमा नदेखिएको गुनासो उनले प्रधानमन्त्रीसमक्ष राखे ।

उनले आफ्ना समर्थकहरू बीच आन्दोलनको कार्यक्रम सार्वजनिक गरिसकेको र सरकार गम्भीर नभए चरणबद्ध आन्दोलन अझ सशक्त बनाइने चेतावनी पनि दिएको स्रोतले जनाएको छ । सरकार पक्षले भने मागहरू संविधान र संसदीय प्रक्रियासँग जोडिएका जटिल विषय भएकाले एकपक्षीय निर्णय हुन नसक्ने स्पष्ट पारेको थियो ।

प्रधानमन्त्री कार्कीले शान्ति सुरक्षा, सामाजिक सद्भाव र राजनीतिक स्थिरतालाई प्राथमिकतामा राख्दै संवादबाट समाधान खोज्ने धारणा राखेकी थिइन् । प्रधानमन्त्रीको सचिवालयले यसअघि नै औपचारिक पत्राचार गरेर प्रसाईंलाई मंसिर २२ गते छलफलका लागि बोलाएको र सोही अनुसार वार्ता भएको हो । अब पुस २ गते दोस्रो चरणको वार्ता गर्ने सहमति भएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.