
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी राष्ट्र भारतले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज (मंगलबार) गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गर्दै निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
अतिरिक्त सचिव महावर भारतीय विदेश मन्त्रालयको उत्तर मामिला हेर्ने जिम्मेवारीमा छन् र नेपाल भ्रमणका सिलसिलामा आइतबार काठमाडौँ आइपुगेका थिए। गृहमन्त्रीको स्वकीय सचिवालयले जनाएअनुसार, भेटवार्तामा भारतीय अतिरिक्त सचिवले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तथा विपद्बाट क्षति भएका संरचनाको पुनस्थापना र व्यवस्थापनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
अतिरिक्त सचिव महावरले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निम्तोसमेत दिएका छन्। भेटमा गृहमन्त्री अर्यालले कञ्चनपुरको दोधारा–चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामलाई तीव्रता दिन आग्रह गरे। गृहमन्त्री अर्यालले सीमा अपराध रोकथाम, चोरी तस्करी, अवैध वस्तुको ओसारपसार र आपराधिक गतिविधि नियन्त्रण गर्नका लागि दुवैतर्फका सीमा सुरक्षा सङ्गठनको क्षमता अभिवृद्धि र सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

























