विश्व भोकमरी सूचकाङ्कमा नेपाल मध्यम श्रेणीमा यथावत्

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २३, मंगलबार १५:०३

काठमाडौँ । वेल्ट हंगर हिल्फे र लि-बर्डले मंगलबार सार्वजनिक गरेको विश्व भोकमरी सूचकाङ्क २०२५ को प्रतिवेदनअनुसार नेपालको अवस्था ‘मध्यम श्रेणीको भोकमरी’ भएको देशका रूपमा रहेको छ, यद्यपि गत वर्षको तुलनामा यसपालि नेपालको अंक केही खस्किएको छ।

यस वर्ष नेपालको जीएचआई अंक १४.८ छ, जुन गत वर्षको १४.७ भन्दा ०.१ प्रतिशतले बढेको हो। अंकमा सामान्य वृद्धि भए पनि नेपाल मध्यम श्रेणीमै कायम रहेको छ। प्रतिवेदनले सन् २००० मा जीएचआई अंक ३७.१ सहित ‘गम्भीर भोकमरी’ भएको देशको श्रेणीमा रहेको नेपालले दुई दशकको अवधिमा भोकमरीको अवस्थामा उल्लेखनीय सुधार गरेको देखाएको छ।

नेपालमा कुपोषणको अवस्था अझै पनि ठूलो सार्वजनिक स्वास्थ्य चुनौतीको रूपमा रहेको प्रतिवेदनले औँल्याएको छ। सूचकाङ्कका प्रमुख मापदण्डहरू यस्ता छन्-

पुड्कोपना : पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपना २६ प्रतिशत पुगेको छ, जुन गत वर्ष २४.८ प्रतिशत थियो।

अल्पपोषण : क्यालोरी खपत कम हुने जनसंख्या जम्मा ५.३ प्रतिशत छ।

बाल ख्याउटेपना : ७ प्रतिशत।

बाल मृत्युदर: २.६ प्रतिशत।

प्रतिवेदन सार्वजनिक गर्ने क्रममा संघीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्री रामेश्वर प्रसाद खनालले विशेषगरी विकासशील देशहरूमा भोकमरी, खाद्य सुरक्षा र पोषण सुरक्षाको अवस्था र चुनौतीलाई प्रतिवेदनले उजागर गरेको बताए। उनले भोकमरी र कुपोषणमा नेपालले प्रगति गरे पनि समस्या अझै विद्यमान रहेको उल्लेख गरे। मन्त्री खनालले देशको प्रमुख समस्याका रूपमा रहेको कुपोषण र नसर्ने रोगको बढ्दो जोखिम नेपालको कृषि ढाँचा, उत्पादन पद्धति, खाद्य प्रणाली र उपभोगमा आएको परिवर्तनसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको धारणा राखे।

वेल्ट हंगर हिल्फे नेपालका कन्ट्री डाइरेक्टर साकेब नाभीले जलवायु परिवर्तनको प्रभाव, कोभिडको असर, जैविक विविधताको क्षति र आप्रवासनजस्ता चुनौतीहरूबीच पनि नेपालले सबैभन्दा कमजोर समुदायलाई खानामा पहुँच सुनिश्चित गर्न सराहनीय काम गरिरहेको बताए। प्रतिवेदनअनुसार, श्रीलंकाबाहेक अन्य दक्षिण एसियाली देशहरूको तुलनामा नेपालले भोकमरी न्यूनीकरणमा राम्रो सुधार गरेको छ। भारत, पाकिस्तान र अफगानिस्तानजस्ता देशहरू अझै पनि भोकमरीको गम्भीर श्रेणीमा छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.