
झापा । यस वर्षको टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार झापाका पत्रकार चिरन्जीवी घिमिरेलाई प्रदान गरिएको छ। घिमिरे ‘नयाँ पत्रिका’ दैनिकका झापा संवाददाता हुन्। अमेरिकास्थित हेम–सरिता फाउन्डेसनले स्थापना गरेको यो पुरस्कार प्रत्येक वर्ष नेपाल पत्रकार महासंघ झापाको संयोजनमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा कलम चलाउने पत्रकारलाई प्रदान गरिँदै आएको छ।
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसको अवसर पारेर मंगलबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष कुमार शर्मा आचार्यले पत्रकार घिमिरेलाई नगद ५० हजार ५ सय ५५ रुपैयाँ राशिसहितको उक्त पुरस्कार प्रदान गरे।
सोही कार्यक्रममा गत वर्ष वितरण हुन बाँकी रहेको पुरस्कार झापाका पत्रकारद्वय सुरेन्द्र भण्डारी र इन्दु पूर्वेली (गौतम) लाई संयुक्त रूपमा प्रदान गरिएको थियो। यसैगरी, लैङ्गिक हिंसा विरुद्धको लेखनवृत्तिका लागि पत्रकारद्वय ज्योत्स्ना श्रेष्ठ र रञ्जिता खड्कालाई जनही ५ हजार रुपैयाँ प्रदान गरिएको महासंघले जनाएको छ।

























