मानवअधिकारलाई राजनीतिक स्वार्थबाट जोगाउनुपर्छः प्रधानन्यायाधीश राउत

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २४, बुधबार १६:१६

जनकपुरधाम। अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा नेपाल बार एसोसिएसनले आयोजना गरेको दुई दिने राष्ट्रिय मानवअधिकार गोष्ठीलाई बुधबार उद्घाटन गर्दै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मानवअधिकारजस्तो संवेदनशील विषयलाई राजनीतिक स्वार्थ र प्रभावबाट पूर्ण रूपमा जोगाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

उनले पछिल्ला वर्षहरूमा मानवअधिकारसम्बन्धी मुद्दाहरू झन् जटिल र पेचिलो बन्दै गएको बताए। प्रधानन्यायाधीश राउतका अनुसार मानवअधिकारको क्षेत्रमा राजनीति मिसिन थालेपछि शङ्का–उपशङ्का बढ्ने र यसले वातावरण नै विषाक्त बन्न सक्ने खतरा देखिएको छ। उनले मानवअधिकारलाई राजनीतिक प्रभावबाट पूर्ण रूपमा अलग राख्नु आजको प्रमुख आवश्यकता रहेको बताए।

राउतले गोष्ठीमा गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा अदालत र मिसिलहरू जलाइएका घटनालाई गम्भीरतापूर्वक स्मरण गर्दै त्यो केवल कागजातमाथि मात्र नभई नेपाली जनता र राज्यको सम्पत्तिमाथि आक्रमण भएको टिप्पणी गरे। उनले ‘मिसिलहरू जलाइए, तर हाम्रो इमान र निष्ठा खरानी भएको छैन’ भन्दै दृढता प्रकट गरे। गोष्ठीमा कानुन व्यवसायी, मानवअधिकारकर्मी तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूले सहभागी भई नेपालको वर्तमान मानवअधिकार अवस्था र सुधारका उपायबारे छलफल गरेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.