
बुटवल । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छबिलाल जोशीको मुद्दामा आज (बिहीबार) उच्च अदालत बुटवलमा पेसी तोकिएको छ।
उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुवरका अनुसार मुद्दा सुनुवाइका लागि आज पेसी चढाइएको छ। यसअघि लामिछाने पक्षका कानुनी व्यवसायीहरूले निवेदन दिएपछि दुई पटक बहस रोकिएको थियो।
बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा लामिछाने पुर्पक्षका लागि थुनामा छन्। सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते लामिछानेलाई रिहा गर्न अस्वीकार गरेको थियो।
जिल्ला अदालतको उक्त आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालत बुटवलमा निवेदन दर्ता गराएका थिए। यस निवेदनमाथि आज सुनुवाइ हुने भएको छ।

























