
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छबिलाल जोशीको सहकारी ठगीसम्बन्धी मुद्दाको सुनुवाइ आज (बिहीबार) पनि स्थगित भएको छ। कात्तिक १३ गतेबाट लगातार पेसी चढ्दै आएको यो मुद्दा आज चौथोपटक सरेको हो।
उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको मुद्दा ‘हेर्न नमिल्ने’ मा राखिएको जानकारी दिए। सूचना अधिकारी कुँवरका अनुसार न्यायाधीश सागर विष्टको आफन्त जाहेरवाला कानुन व्यवसायी परेका कारण आज सुनुवाइ स्थगित भएको हो।
बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको पेसी कात्तिक १३ गतेदेखि निरन्तर सर्दै आएको छ। यसअघि दुई पटक रविका कानुनी व्यवसायीले निवेदन दिएर मुद्दा सारेका थिए भने गत बिहीबार सार्वजनिक बिदाका कारण रोकिएको थियो। त्यसअघि कात्तिक १३ गते जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो।
यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै मुद्दा एकै प्रकृतिको भएकाले छविसमेतको दुवै मुद्दा एकैसाथ राखेर सुनुवाइ गर्न आदेश गरेको थियो। लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटा को इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो।
जिल्ला अदालतले रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरेको थियो। लामिछानेले त्यसको एक भाग बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ को बैङ्क जमानत निवेदनसाथ पेस गरेका थिए। जोशीले पनि बिगोबापतको जमानत पेस गरे पनि बिगो रकमको यकिन नभएको भन्दै जिल्ला अदालतले दुवै प्रतिवादीलाई रिहा गर्न अस्वीकार गरेको थियो। पुर्पक्षका लागि थुनामा रहेका जोशी भैरहवा कारागारमै छन् भने लामिछानेलाई भने भैरहवा कारागारबाट ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ।

























