
काठमाडौँ । नेकपा (एमाले) ले आफ्नो ११औँ महाधिवेशनमा विदेशी पाहुनाहरूलाई भौतिक रूपमा आमन्त्रण नगर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालयको बैठकपछि एमाले नेता महेश बर्तौलाले यसबारे जानकारी गराएका हुन्। एमालेको ११औँ महाधिवेशन मङ्सिरको २७ गतेबाट २९ गतेसम्म काठमाडौँमा सुरु हुँदैछ।
नेता बर्तौलाका अनुसार, महाधिवेशनलाई जनपरिचालनको विशेष प्राथमिकता दिइएको छ। एमालेले उद्घाटन समारोहमा लाखौँको सङ्ख्यामा नेता, कार्यकर्ता र आम नागरिकहरूलाई सहभागी गराउने लक्ष्य राखेको छ। बर्तौलाले भने, ‘२७ गतेको उद्घाटन सत्रमा सहभागी मानिसको जनसागरले असंवैधानिक क्रियाकलाप गर्ने र अलोकतान्त्रिक ढङ्गबाट मुलुक लैजान खोज्ने तत्त्वहरूलाई खबरदारी गर्ने सन्देश सम्प्रेषण गर्ने ध्येय राखेका छौँ।’
यसपटक एमालेले विदेशी राजनीतिक दलहरूलाई भौतिक रूपमा आमन्त्रण गरेको छैन। बरु विभिन्न देशका २६ वटा कम्युनिस्ट र सम्बद्ध राजनीतिक दलहरूलाई शुभकामना पत्र पठाउनका लागि आग्रह गरिएको छ। नेपालभित्रका विभिन्न १६ वटा राजनीतिक दलहरूलाई भने महाधिवेशनमा आमन्त्रण गरिएको छ। एमाले नेता बर्तौलाले महाधिवेशनमा युवाहरूलाई महत्त्वपूर्ण स्थान दिइएको बताएका छन्। उनका अनुसार, १६५ वटा निर्वाचन क्षेत्रबाट छानिने हरेक ४ जना प्रतिनिधिमध्ये १ जना ४० वर्षमुनिका युवालाई समेट्ने गरी वैधानिक सुनिश्चितता गरिएको छ।
महाधिवेशनमा १०८ जना मनोनीतसहित २ हजार २ सय ६८ कुल प्रतिनिधि सहभागी हुनेछन्। आजको सचिवालय बैठकले बाँकी रहेका कामहरू, आर्थिक व्यवस्थापन र महाधिवेशनलाई व्यवस्थित गर्ने कुरामा जोड दिएको बर्तौलाले बताए।
























