सुनसरीमा ८० किलोभन्दा बढी गाँजा बरामद, २ जना  पक्राउ

Share this
661shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २६, शुक्रबार १५:०५

विराटनगर । सुनसरी प्रहरीले २४ घण्टाको अन्तरालमा फरक स्थानबाट ८० किलोभन्दा बढी लागूऔषध गाँजा बरामद गरेको छ। एक घटनामा २ जना पक्राउ परेका छन् भने अर्को घटनामा ठूलो परिमाणमा गाँजा छाडेर मोटरसाइकल चालक फरार भएका छन्।

देवानगंज गाउँपालिका–४, कौवाखोज नजिकबाट प्रहरीले करिब ६० किलो लागूऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यलय सुनसरीका अनुसार गएराती करिब २ बजेतिर इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी कप्तानगंजको संयुक्त गस्ती टोलीले नेपालबाट भारततर्फ शंकास्पद रूपमा गइरहेको मोटरसाइकललाई रोक्न खोज्दा चालकले गाँजा रहेको दुईवटा बोरा फालेर फरार भएका थिए।

प्रहरीले बोराभित्र प्याक गरिएको अवस्थामा ६० केजी गाँजा र बीआर ५० एनजी ८९९३ नम्बरको भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको छ। बरामद गाँजा र मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान थालिएको छ र फरार चालकको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

यसअघि, प्रहरीले इटहरी उपमहानगरपालिका–१३, छोटी पुल नजिकबाट २० किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरूमा धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका–५ का ६५ वर्षीय भिम लिम्बु र सोही स्थानका को २५ प १४३७ नम्बरको मोटरसाइकल चालक ३० वर्षीय ख्याम लिम्बु छन्।

जिल्ला प्रहरी कार्यलय सुनसरीका अनुसार लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा खनार प्रहरी चौकीबाट खटिएको टोलीले हिजो बिहीवार साझ ७:५० बजे शंकास्पद रूपमा गुडिरहेका दुई मोटरसाइकल रोकेर जाँच गर्दा उनीहरूको साथबाट गाँजा फेला परेको हो।

प्रहरीले प्र।१–०२–०५७ प।५३२५ र को।२५ प।१४३७ नम्बरका दुवै मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.