
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले बर्दी लगाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने २१२ जना सशस्त्र प्रहरीलाई कारबाही गरेको छ। सामाजिक सञ्जाल प्रयोग आचार संहिताविपरीत बर्दीको दुरुपयोग गरिएको भन्दै उनीहरूलाई विभागीय कारबाही गरिएको हो ।
सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी मनिष थापाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत कारबाहीको विषयमा जानकारी गराएका हुन् ।
उनका अनुसार २०८० सालदेखि अहिलेसम्म विभिन्न सामाजिक सञ्जालहरूमा बर्दीसहितको तस्बिर पोस्ट गर्ने २१२ जनालाई विभागीय कारबाही गरिएको छ ।

























