
काठमाडौं । भदौ २३ र २४ को घटनाको निष्पक्ष छानबिन हुनुपर्ने नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताएका छन् ।
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बाेधन गर्दै खड्काले मुलुकको विषम परिस्थितिलाई राजनीतिक दलहरू एक ठाउँमा उभिएर लिकमा फर्काउन सक्नुपर्ने बताए ।
‘यी विषयमा हामी सबै राजनीतिक दलले निधार खुम्च्याएर, गम्भीर भएर, जिम्मेवारी बोध गरेर नयाँ सङ्कल्प, दृष्टिकोण र सोचका साथ राज्य प्रणालीमाथिको आक्रमणविरुद्ध एकताबद्ध भएर पुनर्निर्माण, भरोसा र डिरेल भएको संविधानलाई लिकमा ल्याएर जनताको अधिकारको रक्षाका लागि सबै दल एक भएर लाग्नुपर्ने छ’, खड्काको भनाइ छ ।
























