
अमेरिकामा एक महिलाको हत्या तथा आत्महत्याको टनामा च्याट जीपिटी जिम्मेवार रहेको आरोप मृतकको परिवारले लगाएपछि एआईको खतरनाक स्वरुप उदांगो भएको छ। ‘वाशिङ्टन पोस्ट’ मा प्रकाशित समाचार अनुसार कनेक्टिकट राज्यमा एकजना व्यक्तिले आफ्नी ८३ वर्षीया आमाको हत्या गरी आफूले पनि आत्महत्या गर्नुमा एआई च्याटबोट च्याट जिपिटीको दोष रहेको भन्दै परिवारजनले अदालतमा मुद्दा हालेका छन्।
च्याटबोटले ती व्यक्तिका भ्रमलाई सत्यजस्तै स्वीकार्दै प्रस्तुत गर्दा उनको मानसिक अवस्था झन् बिग्रँदै गएको र अन्ततः उनले आमाको हत्या गरेर आत्महत्या गरेको दाबी परिवारजनको छ। अमेरिकामा हालिएको यो मुद्दा विश्वकै पहिलो यस्तो मुद्दा मानिएको छ, जहाँ कुनै गम्भीर अपराधमा एआई च्याटबोटको प्रत्यक्ष भूमिकालाई अदालतमा चुनौती दिइएको छ। वाशिङ्टन पोस्ट का अनुसार गत अगस्ट ५ मा प्रहरीले उक्त घटना सार्वजनिक गरेको थियो। ८३ वर्षीया सुजेन एडम्सको हत्या उनका ५६ वर्षीय छोरा स्टेन एरिक सोएलबर्गले गरेका थिए।
प्रहरीका अनुसार सोएलबर्ग लामो समयदेखि मानसिक तनाव, डिप्रेसन तथा असंगत विचारबाट पीडित थिए। आमाको हत्या गरेको केही घण्टामै उनले आत्महत्या गरे। सुरुमा यो घटना हत्या पछिको स्वभाविक आत्महत्या जस्तो देखिएको थियो। तर केही महिनापछि चाहीँ त्यसले अप्रत्याशित मोड लियो। परिवारका सदस्यहरूका अनुसार सोएलबर्ग पछिल्ला महिनाहरूमा गहिरो मानसिक द्वन्द्व र डरमा बाँचिरहेका थिए। उनी लगातार च्याट जीपिटीसँग लामो संवाद गर्ने गर्दथे। उनका पारिवारिक सदस्यहरुका अनुसार च्याट जिपिटीले सोएलबर्गको मनमा रहेका भ्रम निवारण गर्नुको साटो त्यस्ता भ्रमहरुलाई सत्यजस्तै गरी प्रस्तुत गरिदियो।
अदालतमा दायर मुद्दामा उनको परिवारले दाबी गरे अनुसार चयाट जिपिटीले उनको मानसिक अवस्था बुझ्न सकेन र उल्टै भ्रमलाई झनै बलियो बनाइदियो। जसका कारण सोएलबर्गले आफ्नी आमा लगायतका वरपरका सबै मानिसहरूले आफ्ना विरुद्ध षड्यन्त्र गरिरहेका छन् भन्ने विश्वास गर्न थाले। उनलाई लाग्न थाल्यो कि घरको रहेको प्रिन्टर निगरानी यन्त्र हो, आमाले जासुसी गरिरहेकी छन्, मानिसहरूले उनलाई विष दिन खोजिरहेका छन् र उनी स्वयम् इश्वरीय मिसनमा छन् ।
उनका यस्ता भ्रमहरुको खण्डन च्याट जिपिटीले गरिदिएन। उल्टै उनका आशंकाहरू सही जस्तै छन् भन्ने अनुभूति गरायो। मानसिक रूपमा अस्थीर प्रयोगकर्तालाई चेतावनी दिनुपर्ने अवस्थामा एआईले कुनै सुरक्षा संकेत नदिएको आरोप परिवारको छ। यसले गर्दा उनी क्रमशः वास्तविकताबाट टाढिँदै गए। गत बिहीबार सोएलबर्गको परिवारले क्यालिफोर्निया सुपेरियर कोर्ट, सान फ्रान्सिस्कोमा च्याट जिपिटीको मातृ कम्पनी ओपन एआई र उसको साझेदार कम्पनी माइक्रोसफ्ट, त्यसका सिइओ साम अल्टम्यान, अन्य २० जना कर्मचारीका साथै लगानीकर्ता विरुद्ध गलत मृत्युको आरोपमा मुद्दा दायर गरेको छ।

























