मोरङको सुनवर्षीमा आगो निभाउने क्रममा २ जना घाइते

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २९, सोमबार ११:१२
फाइल फाेटाे

विराटनगर । मोरङको सुनवर्षीमा एउटा घरमा लागेको आगो निभाउने क्रममा २ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सुनवर्षी नगरपालिका–४ काशीजानस्थित श्यामप्रसाद दासको घरमा आइतबार राति १० बजेतिर आगलागी सुरु भएको थियो । आगोले दासको २ तले कच्ची घरसहित अन्नपात, लत्ताकपडा, भाँडावर्तनलगायत घरभित्र रहेका सबै सामान जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले दमकल र स्थानीयको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । घटनामा करिब १५ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

आगलागीको कारण प्रष्ट हुन सकेको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गर्दै प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ ।

आगो नियन्त्रणका क्रममा २ जना घाइते भएका छन् । घाइते हुनेहरु दम्पती (पति–पत्नी) हुन् । आगोले पोलेर सुनवर्षी–४ का २६ वर्षीय आवेशकुमार दास र उनकी पत्नी २३ वर्षीया पूजा दास घाइते भएको प्रहरीले जनाएको छ ।

आगोले आवेशको निधार र पूजाको दायाँ हातमा पोलेको छ । दुवै जना घाइतेलाई उपचारका लागि रंगेली अस्पताल लगिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.